समाजसेवी गणेशमान सैंजुको ९१ औं जन्मजयन्तीमा सम्मान कार्यक्रम

हरिश ढकाल
बुटवल । वरिष्ठ समाजसेवी गणेशमान सैजुको ९१ औं जन्मजयन्तीको अवसरमा समाजका बिभिन्न क्षेत्रमा योगदान पुराएका महानुभावहरुलाई सम्मान गरिएको छ । धार्मिक गतिबिधी मार्फत समाजमा योगदान पुराए वापत धर्मपाल, कर्मयोगी लगाएतका उपाधीहरु समेत प्राप्त गरिसक्नु भएका स्व.सैंजुको सम्झनामा हरेक बर्ष सम्मान कार्यक्रम आयोजना गर्ने गरिएको छ ।

विश्व हिन्दु महासंघ रूपन्देही र कर्मयोगी गणेशमान–कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान (ट्रष्ट)ले एक कार्यक्रम गरि संगितकार सुरेश सेन्चुरी, रक्तदान अभियन्ता कृष्ण चौहान क्षेत्री, वरिष्ठ पत्रकार महेन्द्र थापा, समाजसेवी ध्रुवराज काफ्ले लगायतलाई सम्मान गरेको हो ।
कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष बेनबहादुर पौडेलक्षेत्रीले हिन्दु धर्म नै आज संसारमा रहेका सबै धर्मको मुल श्रोतका रुपमा रहेको दावी गर्नुभयो । हिन्दु धर्मको संरक्षणमा स्व.गणेशमान सैंजुले पुराएको योगदानको चर्चा गर्दै वरिष्ठ अधिबक्ता समेत रहनुभएका पौडेलले धर्मपाल, कर्मयोगीलगाएतका उपाधीबाट शुसोभित भै स्व.सैंजुले समाजसेवामा समर्पित रहेर प्रतिष्ठा आर्जन गरेको उल्लेख गर्नुभएको छ ।

विश्व हिन्दु महासंघ रूपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले धार्मिक कार्य मार्फत समाजसेवा गर्ने स्व.सैंजुको स्वभाव आगामी पुस्ताका लागि पनि अनुकरणिय रहने बताउनु भयो । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल प्रसाद कसजुले स्व.सैजुले समाजसेवाको क्षेत्रमा पुराएको योगदान र मार्गदर्शनको चर्चा गर्नुभयो । बुटवल उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले स्व.सैंजुबाट समाजसेवाको परिभाषा सिक्न सकिने अवस्थाको स्मरण गर्नुभयो ।

कार्यक्रममा कर्मयोगी वरिष्ठ समाजसेवी गणेशमान–कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान (ट्रष्ट) का संरक्षक अनुपमान सैजु, विश्व हिन्दु महासंघ बुटवल नगर अध्यक्ष चन्द्रमान श्रेष्ठ र सम्मानित ब्यक्तिहरु संगितकार सुरेश सेन्चुरी, रक्तदान अभियन्ता कृष्ण चौहान क्षेत्री, पत्रकार महेन्द्र थापा, समाजसेवी ध्रुवराज काफ्ले, लगायतले स्वर्गिय गणेशमान सैंजुले बुटवलको बिकास र समाजसेवामा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

बुटवलमा बृद्धाश्रम, पुस्तकालय, धर्मशाला लगाएतका थुप्रै संघसंस्था स्थापना गर्नुभएका स्व.सैंजुले बिगतमा बिश्व हिन्दु महासंघ, पश्चिम नेपाल बस ब्यबसायी संघ, नवजागृती पुस्तकालयलगाएत रुपन्देहीका १ दर्जन भन्दा बढि संघसंस्थाको नेतृत्व गरिसक्नु भएको थियो । उहाँले गरिब तथा जेहेन्दार बिद्यार्थीहरुका लागि छात्रबृत्ती प्रदान गर्नुका साथै मदिरा, सुर्तिचुरोट, मासुजन्य बस्तुको सेवनको बिपक्षमा अभियान समेत संचालन गर्दै आउनु भएको थियो ।

 
 
  
 

You may also like