मैत्री बौद्ध बिहारबाट परियती शिक्षा २०७९मा सहभागी बिधार्थीहरुलाई सम्मान

कञ्चन।रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. ३ गुम्बा मगर टोलमा रहेको मैत्री बौद्ध बिहारबाट परियती शिक्षा २००७९ मा सहभागी भई दिक्षित भएका ३५ जना बिधार्थीहरुलाई सम्मान गरिएको छ।

मैत्री बौद्ध विहारमा गरिएको सम्मान कार्यक्रममा प्रशिक्षार्थीहरुलाई सम्मान गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले कुनै पनि धर्मले मानव जातीलाई अनुशासन र सामाजिक उत्तरदायित्व सहितको जिम्मेवारीको डोरीले बाँध्ने बताउनु भयो। मानिसमा नैतिक शिक्षाको अभाव भइरहेको बेला मैत्री बौद्ध विहारले सानै उमेरदेखि नै बिधार्थीहरुलाई नैतिक शिक्षाको रुपमा परियती शिक्षा प्रदान गरेर सामाजिक उत्तरदायित्व समेत बहन गरेको अध्यक्ष ढकालले बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष ढकालले गौतम बुद्ध बिष्णु भगवानको दशौं अवतारको रुपमा लिइदै आएको र हिन्दु र बौद्ध धर्मको एउटै सन्देश छ त्यो हो समाजमा अशान्ती, लोभ लालच र ककुर्महरुको अन्त्य गरी शान्ती, आपसी मित्रता, एकता, सहिष्णुता कायम गर्नु।

यसैगरी उपाध्यक्ष मौसमी थापा मगरले जसरी हाम्रो देश बहुभाषिक, बहुधार्मिक तथा बहुजातिय रुपमा एकबद्ध छ त्यसरी नै कञ्चनमा कुनै एक जाती र धर्मले मात्र समाज निर्माण नभएको बताउदै मैत्री बौद्ध विहारबाट परियती शिक्षा २०७९ बाट दिक्षित प्रशिक्षार्थीहरुलाई सभ्य समाज निर्माण गर्ने मार्गमा डोर्याउन विहारले महत्वपुर्ण भुमिका खेल्ने बिश्वास गर्नु भयो।

वडा नं. ३ का वडा अध्ययक्ष टीकाराम सापकोटाले बौद्ध दर्शनबाट दिक्षित वा प्रशिक्षित हरेक ब्यक्तिहरुमा मानवता, सहनहिलता र आपसी सदभावनाले सुसज्जित हुने बिश्वास ब्यक्त गर्नु भयो। कार्यक्रममा नेपाल मगर बौद्ध सेवा समाज, लुम्बिनीका उपाध्यक्ष पार्वती घर्ति मगरले परियती शिक्षा भनेको पञ्चशिल सिद्धान्तमा आधारित नैतिक शिक्षा भएको बताउनु भयो। गुम्बामा पुजापाठ गरिन्छ भने विहारमा बौद्ध दर्शनमा आधारित बौद्ध शिक्षा र परियती शिक्षा प्रदान गर्ने शिक्षालय भएको नेपाल मगर बौद्ध सेवा समाज, लुम्बिनीका उपाध्यक्ष मगरले बताउनु भयो।

मैत्री बौद्ध विहारका अध्यक्ष चक्र बहादुर थापाको अध्यक्षता तथा सचिव भैरव बहादुर थापाको संचालनमा सम्पन्न कार्यक्रममा मैत्री बौद्ध विहारका उपाध्यक्ष बल बहादुर सलामीले पुजापाठ गराउनु भएको थियो।

 
 
  
 

You may also like