चार प्रदेशमा विहानैदेखि बर्षा, यी ठाउँमा पर्नेछ दिउँसो र राति पानी

काठमाडौँ । नेपालमा अहिले मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज (मंगलबार) दिउँसो देशभर सामान्य बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति भने देशभर सामान्य बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीको तटीय क्षेत्रमा सतर्क रहन आग्रह
सिन्धुपाल्चोक, भक्तपुर र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको छ । सिन्धुपाल्चोकको धापस्थित वर्षामापन केन्द्रमा भारी वर्षामापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

मेलम्ची र इन्द्रावती नदीमा बहाव बढ्ने सम्भावना भएकोले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ । भक्तपुरको नगरकोट वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाव बढ्न सक्ने तथा कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 
 
  
 

You may also like