चार प्रदेशमा विहानैदेखि बर्षा

काठमाडौँ । नेपालमा अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसमविदले जनाएका छन् ।

आज (सोमबार) देशभर सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मंगलबार पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

वर्षाका कारण हुन सक्ने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोप, जन–स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।
रूपन्देही, कपिलवस्तु र दाङमा भारी वर्षा
रूपन्देही, कपिलवस्तु र दाङमा भारी वर्षा भएको छ । रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको तौलिहवा र दाङको लालमटिया आसपासको क्षेत्रमा गए रातिदेखि भारी वर्षा भएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्र भएर बहने कोठी, बाणगंगा, सुरईलगायत खोलाहरूमा बहाव बढ्ने सम्भावना रहेको छ । त्यसैले नदी तथा खोलाका तटीय क्षेत्रहरू र रूपन्देहीका डुबान भइरहने होचा भू–भागहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 
 
  
 

You may also like