नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसी बर्खास्त

काठमाडौँ । नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसी बर्खास्त भएका छन् । ३५ तोला सुन प्रकरणमा जोडिएका केसीमाथि प्रहरीले आन्तरिक अनुसन्धान गर्दा दोषी देखेपछि गृह मन्त्रालयलाई बर्खास्तका लागि १५ दिनअघि सिफारिस गरेको थियो ।

केसीलाई गृह मन्त्रालयले प्रहरी सेवाबाट हटाएको जानकारी दिंदै प्रहरी प्रवक्ता कुवेर कडायतले भने, ‘प्रहरी प्रधान कार्यालयको रायअनुसार गृहले सेवाबाट हटाएको जानकारी दिएको छ । अब उहाँ प्रहरी सेवामा हुनुहुन्न । उहाँलाई यो निर्णय चित्त नबुझे अदालत जान सक्नु हुन्छ ।’

इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख हुँदा केसीले सुन व्यापारीहरूसँग रकम असुली गरेको सूचनापछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको ३५ तोला सुन नियन्त्रणमा लिएर आफैले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन गरी घर खानतलासी गर्दा सुन फेला परेको थियो ।

प्रहरीले गत पुस ११ गते केसीको कोठामा छानबिन गर्दा ३५ तोला सुन र १८ लाख रुपैयाँको चेक बरामद गरेको थियो । व्यापारीले डीएसपी केसीलाई २५ लाख रुपैयाँ बुझाएर उक्त सुन फिर्ता लिन खोजेका थिए । यसैबीच केसीको सरुवा पनि निस्केको थियो । उनको कास्की सरुवा भएको थियो । प्रहरीले उनलाई निलम्बनमा राखेर अनुसन्धान अगाडि बढाएको थियो । प्रहरी नियमावली २०७१ विपरीत काम गरेको पाइएपछि उनलाई बर्खास्त गर्नुपर्ने प्रहरी अनुसन्धान अधिकृतहरूको दाबी थियो ।

 
 
  
 

You may also like