पूर्वमा बाढी पहिरोको बितन्डा : २६ जना बेपत्ता, १० घर बाढीले बगायो

काठमाडौं ।गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले पूर्वमा बितन्डा मच्चाएको छ । बाढी पहिरोमा परेर २६ जना बेपत्ता भएका छन् भने १० घर बाढी पहिरोले बगाएको छ ।

जुन १४ तारिखमा नेपाल भित्रिएको मनसुन अहिले कोशी प्रदेशमा बढी सक्रिय छ । त्यसैले त्यहाँको वर्षा, बाढी र पहिरोले मानवीय क्षतिसमेत पुर्याएको छ ।

पाँचथर : बाढीमा ५ जना बेपत्ता, हेवाखोलाको पक्कीपुल बगाएपछि मेची राजमार्ग अवरुद्ध

गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन्

फालेलुङ ३ खोलाघारी सेपीमा पहिराले पुरेको बालिकाको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए । वर्षात्ले मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल समेत बगाएको छ ।

पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए । तमोर करिडोरको ‘बेलीब्रिज’ बगाएको छ ।

याङ्वरक गाउँपालिका–३ र २ मा घर बगाएको स्थानीयले बताएका छन् । यस्तै फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सङ्खुवासभा : हेवाखोलाको बाढीले ७ घर बगायो, १७ मजदुर बेपत्ता
सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख गोदारका अनुसार शवको पहिचान हुन बाँकी छ ।

बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पु-याएको छ ।

घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन् ।

ताप्लेजुङ : बाढीले तीन घर बगायो, एकै परिवारका तीनजना सहित चार बेपत्ता

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् ।

स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् ।

यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता हुनुभएको छ । खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका बताइएको छ ।

घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले जानकारी दिए । मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ । यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको भवन पूर्णरूपमा पहिराले बगाएको छ ।

अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन् । बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत्समेत ठप्प छ ।

मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन् । थप क्षतिसहित यकिन विवरण आउन बाँकी छ ।

दोभान बजार जोखिममा

अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ । गए राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार सोही क्षेत्रका डिल्ली सेलिङ, रामबहादुर सेलिङ र मीन बुढाथोकीको घर जोखिममा छन् । वर्षासँगै आएको बाढी बस्तीतर्फ पसेपछि घर छाडेर सुरक्षित क्षेत्रमा सरेकाले मानवीय क्षति भएको छैन ।

बाढीले इङ्वाखोला जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ । खोला किनारको खेतीयोग्य जमिनसमेत बगाएको छ भने केही पशुचौपायासमेत बगाएको जनाइएको छ ।

यसैगरी मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ । बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलले बताए । उनका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बूको घर उच्च जोखिममा छन् । बाढी सामान्यतया घटे पनि पानीको बहाव घटेको छैन ।

मध्यरातमा बाढी आएपछि बजारका आधाजसो घरपरिवार अन्तै सरेका छन् । बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको बताइएको छ ।

मैवाखोला–२ र ५ नं वडा जोड्ने खार्तेखोलाको झोलुङ्गे पुल बगाएको स्थानीयले बताए । रातभर अत्यधिक वर्षासँगै ठाउँ–ठाउँमा बाढी र पहिरो झरेपछि जिल्लाका अधिकांश गाउँघरका मानिस रातभर नै जाग्राम बस्नुपरेको छ ।

जिल्लाका सबै ठाउँमा वर्षा भएको थियो । बिहीबार रातिमात्र सिरीजङ्घा गाउँपालिकाको याम्फुदिनमा बाढीले क्षति पुगेको थियो । यहाँका पाँचवटा सरकारी कार्यालय स्थानान्तरण गरिएको छ भने १५ घरपरिवार अन्तै सरेर बसेका छन् ।

यसैबीच मेची राजमार्गअन्तर्गत हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोलामा आएको बाढीले पुल बगाएपछि मेची राजमार्गसमेत पूर्णरूपमा अवरुद्ध भएको जनाइएको छ ।

 
 
  
 

You may also like