वातावरण दिवसमा शान्ति समाजको आह्वान : चुरे मास्न पाइदैँन, पर्यावरण विरोधी नीति चाहिदैँन

रुपन्देही। चुरे मास्न पाइदैँन : पर्यावरण विरोधी नीति चाहिदैँन भन्ने आव्हानका साथ मानव अधिकार तथा शान्ति समाजले आज बिभिन्न
कार्यक्रमको आयोजना गरि बिश्व वातावरण दिवश मनाएको छ । अप्राकृतिक दोहनका कारण हुने वातावरण असन्तुलन र पर्यावरण प्रतिकुल हुनेगरि कुनैपनि कार्य नगर्न सरकारलाई आग्रह गर्दै शान्ति समाजले चुरे दोहन गर्ने निति तत्काल
खारेज गर्न माग समेत गरेको छ ।

यसैबिच हिमालय र चुरे बचाउँ : तराइलाई मरुभूमिकरण हुनबाट जोगाउँ भन्ने आह्वानसहित रुपन्देही जिल्ला शाखाले बुटवल २ पाखापानीस्थित बासुकी नाग मन्दिर परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय समितिका निवर्तमान सभापति एवं सल्लाहकार गोविन्द खनालले वातावरण संरक्षणको सवालमा सरकारी, सामाजिक र गैरसरकारी क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

सल्लाहकार खनालका अनुसार पछिल्लो चरणमा चुरेक्षेत्र दोहन गरि ढुंगागिटी र बालुवा निकासीका लागि नेपाल सरकारले अवलम्वन गर्न थालेको घातक नीतिप्रति मानव अधिकार तथा शान्ति समाजले गम्भिर चिन्ता व्यक्त गरेको छ । चुरेको अत्याधिक दोहन गरेर ढुंगा, गिट्टी, बालुवा निकाल्नु भनेको तराईलाई मरुभुमिकरणतर्फ धकेल्नु हो भन्ने धारणा शान्ति समाजले बारम्बार व्यक्त गर्दै आएको उनले बताए । खनालले भने—बाह्य शक्तिको दबाबमा परेर चुरे ध्वस्त पारी ढुंगा गिटी निकासीको योजना नेपालको वातावरणिय र पर्यावरणीय सन्तुलनका हिसाबले अत्यन्तै आपत्तिजनक भएकोले त्यस्तो आत्मघाती काम नगर्न मानव अधिकार तथा शान्ति समाज सरकारलाई आग्रह गर्दछ ।

शान्ति समाजका केन्द्रिय सचिव मिना ढकालले वातावरण संरक्षणका लागि वनजंगल संरक्षण आवश्यक रहेको भन्दै बृक्षारोपण गरेर मात्र नभै यसलाई जोगाउने र हुर्काउने कुरा महत्वपुर्ण हुने धारणा राखिन् । केन्द्रिय सदस्य डिपि खनालले वातावरणको बिषय समग्र प्राणीजगत खासगरि मानव जगतको जिवनसँग जोडिएकोले वातावरण जोगाउने अभियानमा सबै एकताबद्ध भएर लाग्नु पर्ने कुरामा जोड दिए । समाजका जिल्ला सभापति कृष्णप्रसाद भट्टराई, सचिव कृष्ण पाण्डेलगाएतले नेपालको लोकतान्त्रिक आन्दोलन र अधिकार प्राप्तीको सवालमा अग्रपंक्तिमा रहेर बिभिन्न अभियान संचालन गर्दै आएको मानव अधिकार तथा शान्ति समाजले पछिल्लो समय वातावरण मानव जिवनको अभिन्न अंग भएकोले यसको बचाउका लागि पनि अभियान संचालन गरेको जानकारी गराएका थिए । वातावरण संरक्षणका लागि कार्य गर्न केन्द्रीत रही सन् १९७३ देखि ५ जुनका दिन विश्व वातावरण दिवस मनाउन थालिएको हो ।

 
 
  
 

You may also like