चितवनमा ट्रकले ठक्कर दिँदा साइकल यात्रीको गयो ज्यान

चितवन । पूर्व–पश्चिम महेन्द्र राजमार्गको चितवन राप्ती नगरपालिका– ४ मार्ताल पुल नजिक ट्रकले दिएको ठक्करका कारण साइकल चलाइरहेका एक जनाको ज्यान गएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टका अनुसार गएराति मंगलबार पौने १० बजे भएको घटनामा राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको मृत्यु भएको हो । साइकल चलाइरहेका उनलाई पूर्वबाट पश्चिम नारायणगढतर्फ आइरहेको बा प्र ०३–००१ ख १८६३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

टाउको, अनुहार र हात खुट्टामा चोट लागेका पाण्डेलाई भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारमा लागि भर्ना गरिएको थियो । चिकित्सकले पाण्डेलाई राति साढे १० बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक भट्टको भनाइ छ । प्रहरीले ट्रकका चालक मकवानपुर हेटौंडा–९ ठेगाना भएका २५ वर्षीय दिपेश अधिकारीलाई नियन्त्रणमा लिएको छ ।

 
 
  
 

You may also like