नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई म्याद थप्न अदालत लगिँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज (सोमबार) म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिने भएको छ ।

आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका नेता रायमाझीलाई आज अदालतमा पेश गर्न लागिएको प्रहरीले जनाएको छ । उनलाई महानगरीय प्रहरी वृत्त लैनचौरमा राखिएको छ । गए राति मेडिकल गरेर उनलाई लैनचौर वृत्तमा पुर्‍याइएको प्रहरीले जनाएको छ ।

यसअघि गत वैशाख २० गते सोही प्रकरणमा उनका छोरा सन्दीप पक्राउ परेका थिए । सन्दीप पक्राउ परेसँगै उनी फरार रहेका थिए । सोही शरणार्थी प्रकरण नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण काठमाडौं स्थित निजी निवासबाटै पक्राउ परेका थिए ।

शरणार्थी प्रकरणमा हालसम्म पूर्वगृहमन्त्री खाँण, पूर्वमन्त्री रायमाझी, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलगायत १३ जना पक्राउ परेका छन् । सोही प्रकरणमा नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पा र पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अहिले उनीहरु फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 
 
  
 

You may also like