अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौं । आज (सोमबार) १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको नारा ‘सामाजिक सुरक्षा, मर्यादित श्रम; राष्ट्रको अभियान’ तय गरेको छ ।

दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाल तथा विश्वभर छरिएर रहेका श्रमिकलाई शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना दिँदै भनेका छन्, ‘कामका खोजीमा विदेशिएका नेपाली श्रमिकको रोजगार थप, सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाइनेछ । स्वदेश तथा विदेशमा श्रम गर्ने श्रमिकको हक, अधिकार, सुविधा, र असल सम्बन्ध सुनिश्चित गर्न सरकार निरन्तर लागि गरेको छ ।’

यसैबीच श्रमिक संघ संगठनले श्रम हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले भने ‘हाम्रा अधिकार खोसिँदैछन्, सङ्गठित हाँै, प्रशिक्षित हौँ र परिचालित हौँ’, नारा तय गरेको छ । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकले लामो सङ्घर्षबाट प्राप्त गरेको अधिकार खोसिँदै गएको गुनासो गर्छन् ।

उनले भने, ‘हामीले श्रम ऐन, सामाजिक सुरक्षा धेरै कुरा प्राप्त गर्‍यौँ तर पछिल्लो समय प्राप्त गरेका यी अधिकार खोसिएको महसुस भएको छ । त्यसैले यस वर्षको नारामार्फत सङ्गठित हाैं, प्रशिक्षित हौँ र परिचालित हुनलाई आह्वान गरेका हौँ ।’ नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको थियो ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्टले मजदुरले न्यूनतम पारिश्रमिक पाउने अवस्थामा सुधार भएको भए पनि त्यो पर्याप्त नभएको जनाएको छ । श्रम कानुन कार्यान्वयनको विद्यमान अवस्थासम्बन्धी श्रम अडिट प्रतिवेदन २०७९ सार्वजनिक गर्दै जिफन्टले अझै १५ दशमलव ३० प्रतिशत मजदुरले न्यूनतम पारिश्रमिक नपाएका जनाएको छ ।

यस्तै, वार्षिक पारिश्रमिक वृद्धि (ग्रेड वृद्धि) गर्ने प्रतिष्ठान बढ्नुको साटो घट्दै गएको प्रतिवेदनले देखाएको छ । श्रमिकहरुले प्राप्त ज्यालाले जीवन धान्न नै मुस्किल पर्ने गरेको बताउँदै आएका छन् । सरकारले श्रमिकको हकहितका लागि भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको छ । तर, यो कार्यक्रममा अझै पनि धेरै श्रमिक समेटिन बाँकी छन् ।

 
 
  
 

You may also like