तिलोत्तमाका टोल—टोलमा सरसफाई

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा शुक्रबार सरसफाई गरिएको छ । वडा कार्यालयहरुको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सरसफाई गरेका हुन् । यसैक्रममा वडा नं. ८ का सबै टोलहरुमा पनि सरसफाई गरिएको छ । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियानको एक सयौं श्रृंखलाको अवसरमा सरसफाई गरिएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

तिलोत्तमाको वडा नं. ८ मा हाल ८ वटा टोल विकास संस्थाहरु क्रियाशील छन् । सरसफाई कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, अभियान संयोजक सुरेन्द्र श्री, करहिया—मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यज्ञ गैरे लगायतका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ—संस्थाका प्रतिनिधिहरुले समेत सहभागिता जनाएका थिए ।

चार नंबर चोकबाट सुरु भएको बुद्ध सर्किट सरसफाईमा सहभागी नगर प्रमुख रामकृष्ण खाणले सबै नगरबासीले सरसफाईलाई आफ्नो जीवन पद्धतिको रुपमा अघि बढाउँदा अभियान दीगो रुपमा अघि बढ्ने बताउँदै अभियानमा सहभागी बन्न सबै नगरबासीलाई आह्वान गर्नुभयो । यस्तै उपप्रमुख जागेश्वरी चौधरीले सरसफाई तिलोत्तमाबासीको पहिचान बनेको उल्लेख गर्दै सप्ताहव्यापी कार्यक्रमका साथैं नियमित सरसफाई अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताउनुभयो ।

वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले सरसफाईलाई सामाजिक विषय भएको बताउँदै सप्ताहव्यापी कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउँदै आफ्नो घर, आँगन, सडक, व्यवसायिक प्रतिष्ठान, कार्यालय, चोक, टोल, सार्वजनिक स्थानमा सघन सरसफाई गर्नु सम्पूर्ण नगरबासीमा अनुरोध गर्नुभयो । करहिया—मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यज्ञ गैरेले सरसफाई तिलोत्तमाको पहिचान बनेको बताउँदै यसलाई दीगो बनाउने तर्फ सबैको ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।

तिलोत्तमा नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु आएसँगै नियमित सरसफाई अभियान सुरु भएको थियो । आगामी चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत् हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् ।

निरन्तर सरसफाई अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककैं पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउन सफल भएको छ । नगरपालिकालाई वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउने गरी काम अघि बढाइएको छ ।

२०७१ सालमा साविकका सात वटा गाविस मिलेर बनेको तिलोत्तमा नयाँ नगरपालिका हो । सरसफाईबाट यो नगरपालिकाले राष्ट्रिय स्तरमा आफ्नो विशिष्ट पहिचान बनाएको छ । पालिका पहिलो खुला शून्य पोलोथिन नगरपालिका समेत बनिसकेको छ । ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा महाअभियानको क्रममा हालसम्म दुई लाख भन्दा बढी वहुगुणी फलफूल तथा वनस्पतिका विरुवाहरु नगरपालिकामार्फत् रोपिएका छन् । नगरपालिकाले सिटी फ्लावरको रुपमा बेगनबेली निर्धारण गरेको छ भने जन्मदिनमा कम्तिमा एउटा विरुवा रोप्न नगरबासीलाई आह्वान गरेको छ ।

 
 
  
 

You may also like