सरकार छाड्ने एमालेको निर्णय, प्रचण्ड सरकारमाथिको समर्थन पनि फिर्ता

by समतल अनलाइन

काठमाडौं। नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपति निर्वाचनमा कुरा नमिले पनि सरकारलाई दिएको समर्थन कायमै राखिरहने कोसिस गरेको तर प्रधानमन्त्री फरक ढंगबाट जान खोजेपछि सरकारबाट हट्ने निर्णय गरेको जानकारी दिए । ‘सरकार छाड्न, नत्र सरकारबाट हटाउने वा विनाविभागीय मन्त्रीसम्म बनाउने प्रधानमन्त्रीको निरन्तर अभिव्यक्तिका कारण यो सरकारमा बसिरहनु उचित हुने हामीले देखेनौं’, उनले पत्रकारसँग भने ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मानवअधिकार परिषद्को बैठकमा जान लागेकी परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अन्तिम अवस्थामा रोकेपछि एमालेले सोमबार बिहान सचिवालय बैठक राखेको थियो । ‘प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई विदेश नजानका लागि निर्देशन दिनुभयो, स्वेच्छाले सरकार छाड्ने वा विनाविभागीयमन्त्री बनाउने सम्मका कुरा गर्नुभएपछि हामी सरकारमा बसिराख्नु उचित देखिएन’ उपाध्यक्ष पौडेलले भने ।

यो निर्णयसँगै नेकपा (एमाले) का मन्त्रीहरूले आजै राजीनामा बुझाउने भएका छन्। पार्टी सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।

 
 
  
 

You may also like