बुटवलमा मगर संघ स्थापना दिवस महामेला र पर्वको रुपमा मनाउँदै

by समतल अनलाइन

बुटवल । बुटवलमा ४१ औं मगर संघ स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईने भएको छ । नेपाल मगर संघ बुटवलले फागुन १५ गते स्थापना दिवसलाई महामेला र पर्वको रुपमा मनाउँने तयारी गरेको हो । सघंले आफ्नै कार्यालय सुख्खानगरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्र्दै मगर संघ दिवसको अवसरमा बुटवलमा रहेका मगर समुदायलाई एकिकृत गर्दै रचनात्मक कार्यहरु सहित मनाउने निर्णय गरेको जानकारी दिएको हो ।

नेपाल मगर संघ बुटवल समितिका अध्यक्ष बसन्ती साठीघरे मगरले दिवसको पुर्वअवसरमा फागुन १३ गते बुटवल १५ उजेलापुरमा रहेको अपाङ्ग आश्रममा फलफूल तथा खाद्यान्न वितरण गर्ने र फागुन १५ गते बुटवल ७ दीपनगरमा रहेको पितृ बाजीबज्या थानमा मुख्य कार्यक्रमको आयोजना गरिने जानकारी दिनुभयो ।
फागुन १५ गते सोममबारको दिन लखना चोक चौराहा , मिलनचोक , नयाँबसपार्क , भुड्की चोक , हिलपार्क हुँदै बाजीबज्या थानसम्म मगर भेषभुषा झाँकी सहित बृहत्त र्यालीको आयोजना हुने उहाँले बताउनु भयो ।

दिवसको अवसरमा मगर समुदायको सोरठी, कौडा, सालैजो, घातु नाचको विशेष प्रस्तुत रहने साठीघरेले जानकारी दिनुभयो । वि.स २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगरहरु एकताबद्ध हुँदै प्रथम राष्ट्रिय भेला सम्पन्न गर्न सफल भएको दिनको सम्झनामा प्रत्येक वर्ष मगर संघले स्थापना दिवस मनाउँदै आएको हो । मगर संघ स्थापना दिवस दिवसको रुपमा मात्रै नभई मगर समुदायको महामेला र छुट्टै पर्वको रुपमा विकास भईरहेको संघले जनाएको छ ।

राष्ट्रको पहिचान र समृद्धिका लागि एक आन्दोलनकै रुपमा दिवस मनाउने तयारी गरेको संघले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
मगर समुदायको पहिचान संरक्षण, मगरभाषालाई पनि सरकारी कामकाजी भाषाको रुपमा प्रयोग, विद्यालयमा मगर भाषामा शिक्षाको सुलभ ब्यवस्था , राज्यको हरेक संरचनामा पूर्ण समानुपातिक समावेशी सिद्धान्त लागु हुुनपर्ने , प्रथम सहीद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा लगायतका माग मगर संघले सरकार समक्ष राख्दै आएको छ ।

यस्तै फागुन १५ लाई सार्वजनिक विदा दिँदै हरेक समुदायको सांस्कृतिक र मौलिक पर्वमा सार्वजनिक बिदाको ब्यवस्था गर्न माग मगर संघले राखेको छ । मगर समुदायको आफ्नै मौलिक भाषा ( खाम, काइके,ढुट) लिपि, धर्म, संस्कार , संस्कृति, रितरिवाज हुँदाहुँदै पनि राज्यको विभेदकारी नीतिका कारण पछाडि पर्नु परेको गुनाशो संघले पोखेको छ । संघका प्रदेश सदस्य गोपाल बहादुर चौहानले रुपन्देही जिल्लामा करिब ११ हजार भन्दा बढि मगर समुदायले मगर भाषा बोल्ने गरेको जानकारी दिनुभयो ।

 
 
  
 

You may also like