रुपन्देहीमा सम्पन्न खड्ग प्रसाद गौचन क्रिकेट प्रतियोगिताको उपाधि धनगढीलाई

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा सम्पन्न पाचौ खड्ग प्रसाद गौचन स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९ को उपाधि धनगढि क्रिकेट एकेडेमीले हात पारेको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा विहिबार भएको फाईनल खेलमा धनगढीले सिईसी, काठमाण्डौमाथि २ विकेटले जित निकाल्दै उपाधि हात पारेको हो । उपाधिसंगै धनगढी नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । सिईसी भने नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगितामा धनगढीका सौर्य श्रेष्ठ म्यान अफ द सिरिज बन्दै नगद ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । श्रेष्ठ उत्कृष्ट बलर समेत घोषित भए । धनगढीका निशान्त रेग्मी उत्कृष्ट ब्याट्सम्यान, ईमेर्जिङ प्लेयर्सबाट न्यु होराईजनका सुमन खनाल घोषित हुँदै नगद ३ हजार रुपैया, कप, मेडलबाट पुरस्कृत भए ।

सिद्धार्थनगर क्रिकेट रंगशालामा भएको फाईनल खेलमा टस जितेर धनगढीले सिईसीलाई ब्याटिङको निम्तो दिएको थियो । सिईसीले ३९.२ ओभरमा सबै बिकेट गुमाएर १ सय ४९ रनको लक्ष्य खडा गरेको थियो । सिईसीका लागि स्मिथ बुढाले ४६, उमकार यादवले २५ तथा सिद्धार्थ साउदले २० रनको योगदान दिए ।

धनगढीका निशान्त रेग्मी, सचिन साउद र निरज एैरले समान २–२ विकेट लिए । मध्यम स्कोर पछ्याएको धनगढी ३१ ओभरमा ८ विकेटको नोक्सानीमा जित हासिल गर्यो । धनगढीका निरज एैरले नटआउट ३९ तथा रबिन्द्र कुवरले ३० रनको योगदान दिए । सिईसिका करण घर्ती मगर, ओमकार यादव र सौर्य श्रेष्ठले समान २–२ विकेट लिए । खेलमा म्यान अफ दि म्याच निरज एैरबाट पुरस्कृत भए ।

एक समारोहका बिच ओमसतिया गाउपालिकाका अध्यक्ष मन्जित कुमार यादव, गापा उपाध्यक्ष सुनिता चौधरी, सदस्य गुन्जा चौधरी, शक्ति गौचनका मुमा रामकुमारी गौचन, बलियो नेपालमा सिईयो अतुल उपाध्याय, रुपन्देही क्रिकेट संघका पुर्व अध्यक्ष प्रेम सेन्चुरी, क्यानका केस धर्मराज गिरि, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापा, सचिव सन्जय गुरुङ, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय सदस्य आदित्य पाण्डे, स्टार क्रिकेट एकेडेमीका डाईरेक्टर कविता गौचन विजेता, उपविजेता खेलाडी तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।

कार्यक्रममा ओमसतिया गाउपालिकाका अध्यक्ष मन्जित कुमार यादवले खेलकुद विकासमा आफू निरन्तर लाग्ने बताए । कार्यक्रममा बलियो नेपालमा सिईयो अतुल उपाध्यायले खेलाडीहरुमा पोषणको माध्यमबाट फिट र खेलकुदमा अघि बढाउने लक्ष्यसहित संस्थागत रुपमा कार्यक्रम ल्याएको बताए । पहिलो चरणको लिग र सेमिफाइनल खेलहरु देवदह क्रिकेट मैदानमा खेलाईएको थियो ।

 

 
 
  
 

You may also like