चीनले किन भन्यो–अमेरिकाले औंला उठाएको सह्य छैन ?

by समतल अनलाइन

काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेन युद्धलाई ध्यानमा राख्दै चीनले रुसलाई हतियार र गोलाबारुद दिने विचार गरिरहेको बताएका छन् ।

एन्टोनी ब्लिन्केनले सीबीएस न्युजलाई दिएको अन्तर्वार्तामा भने, ‘चिनियाँ कम्पनीहरूले रुसलाई सहयोग गरिरहेका छन् । यो सहायता यस्तो थियो कि जसबाट कुनै किमिसका विध्वंश वा विनाश हुँदैन । तर अब नयाँ जानकारी बाहिर आएको छ, चीनले अब रुसलाई हतियार वा विनाशकारी गोलाबारुद उपलब्ध गराएर सहयोग गर्न सक्ने देखिन्छ ।’

ब्लिन्केनले चीनले यस्तो गरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । रुसले सैन्य हतियार माग गरेको भनिएको समाचारलाई चीनले अस्वीकार गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एकअर्काका सहयोगी हुन्। चिनफिङले रुसले युक्रेनमा गरेको आक्रमणको अहिलेसम्म निन्दा गरेका छैनन् ।

यद्यपि उनले यस विषयमा शान्तिका लागि अपिल गरेका छन् । रुसले युक्रेनमा आक्रमण सुरु गरेको एक वर्ष भइसकेको छ । चीनको विदेश मन्त्रालयले रुससँगको सम्बन्धका विषयमा अमेरिकाले औंला उठाउने कार्य सह्य नहुने चेतावनी दिएको छ ।

ब्लिन्केनले म्युनिख सुरक्षा सम्मेलनमा चिनियाँ कूटनीतिज्ञ वाङ यीलाई भेटेका थिए र त्यसपछि मात्र उनले सीबीएसलाई दिएको अन्तर्वार्तामा चीन–रुसबारे टिप्पणी गरे । यसअघि पनि जासुसी बेलुनका विषयमा अमेरिका र चीनबीचको सम्बन्धमा तनाव आएको थियो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि बेलुनका कारण आफ्नो चीन भ्रमण रद्द गरेका थिए । बीबीसी

 
 
  
 

You may also like