तीन प्रदेशको उच्च भू–भागमा हल्का हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु

by समतल अनलाइन

काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्य तराईका धेरै भू–भागहरुमा बाक्लो हुस्सु लागेको छ ।

आज (बुधबार) दिउँसो प्रदेश–१, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति प्रदेश–१ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहीबार भने प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हिमाली भू–भागमा हल्का हिमपात र मध्य तराईका धेरै भू–भागहरुमा बाक्लो हुस्सु लाग्ने हुँदा दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तापक्रम औसतभन्दा ५ डिग्री सेल्सियस कम
आइतबारदेखि तराई भू–भागमा, मुख्यतया मध्य तराईमा, दिनभर हुस्सु÷कुहिरो लागेको छ । भैरहवा, सिमरा र जनकपुर केन्द्रहरूमा अधिकतम तापक्रम औसत अधिकतम तापक्रम ५ डिग्री सेल्सियस भन्दा बढीले घटेको छ । उक्त स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बीच ५ डिग्री सेल्सियस भन्दा कम भिन्नता आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

साथै तराईका धेरै भूभागमा मापन गरिएको न्यूनतम तापक्रम औसत न्यूनतम तापक्रम भन्दा थोरै बढी देखिएको छ । उक्त क्षेत्रहरूमा मध्यनजर गर्दा हाल नेपालको तराई भूभाग विशेषतः नेपालगञ्जदेखि पूर्व जनकपुरसम्म मन्द शीतलहरको अवस्था रहेको छ । यो शीतलहर अझै केही दिनसम्म कायम रहने सम्भावना भएको भन्दै विभाग भन्छ, ‘तापक्रम घट्न गई मध्यम किसिमको शीतलहर हुनसक्ने सम्भावना रहेको देखिन्छ ।’

नेपालगञ्ज भन्दा पश्चिममा र जनकपुर भन्दा पूर्वमा न्यूनतम तापक्रम घटी चिसोको लहर बढ्न गई बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना देखिन्छ । त्यसैले अबका केही दिन चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

 
 
  
 

You may also like