दाइजो बिना विवाह गर्ने छ जोडी सम्मानित

by समतल अनलाइन

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकामा दाइजोबिना विवाह गरेका छ जोडीलाई सम्मान गरिएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा सुनवल सामुदायिक विकास केन्द्रले दाइजो बिना विवाह गरेका उनीहरुलाई एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

विवाहमा गरिने अनावश्यक खर्चलाई सामाजिक काममा लगाउने उद्घोषका साथ वैवाहिक जीवनमा बाँधिएका नव जोडीलाई सम्मान गरिएको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए । ‘विवाहलाई दाइजोरहित बनाउन निकै चुनौतीपूर्ण भएका बेला यहाँका छ जोडी उदाहरण बन्नुभएको छ’, उनले भने, ‘महिला हिंसाको एउटा जडका रुपमा रहेको दाइजो प्रथाको उल्मुलनका लागि राम्रो सुरुवात हो ।’

सम्मानित हुनेमा सलाउद्दीन मन्सुरी र नाजमा खातुन, अशोक हरिजन र बविता हरिजन, पंकज गिरी र मनिषा गिरी, प्रमोद हरिजन र अनिशा हरिजन, शैलेशकुमार कोइरी र निर्जलीकुमारी कोइरी, असिउद्दीन अन्सारी र अम्जाहान खातुन रहेका छन् । सम्मानित हुने जोडी पंकज गिरी र मनिषा गिरीले आफूहरु सधैभरी कुप्रथाको विरुद्धमा रहेको बताए । सम्मान कार्यक्रमपछि पाल्हीनन्दन–६ लंगडीपाकडदेखि वडा नं. ५ विसुनपुरा भन्सार चोकसम्म सचेतना र्‍याली निकालिएको थियो ।

 
 
  
 

You may also like