नेपालगञ्जमा प्रहरीले बरामद गरेको पेस्तोलको फिंगर प्रिन्ट परीक्षण गर्न तरूण दलको माग

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दलले नेपालगञ्जमा बिहीबार राति भएको घटनामा प्रहरीले गलत मनसाय राखेको बताएको छ।

अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति निकाल्दै तरूण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहलाई प्रहरीले फसाएको उल्लेख गरेका छन्। उनले बरामद भएको भनिएको पेस्तोलको फिंगर प्रिन्ट पनि तत्काल जाँच गर्न माग गरेका छन्।

‘प्रहरीद्वारा आफैंले लगेको हतियार तरूण नेता सन्दीपजंग शाहको गाडीबाट बरामद भएको भनी झुठा बहाना बनाइ फसाउने र सामाजिक आतंक सिर्जना गर्ने लोकतन्त्रवादी तरूणहरूलाई दु:ख दिने कुत्सित मनसाय एंव दूरासययुक्त नियतले पक्राउ गरिएका शाहलगायतलाई तत्काल रिहा गर्न, घटनास्थलमा पुगी निर्दोष तरूण नेताहरूलाई पक्राउ गरी फसाउन झुठा प्रपञ्च रच्ने षडयन्त्रकारी प्रहरीलाई हदैसम्मको कारबाही गर्न र बरामद गरिएको भनिएको हतियारमा फिंगर प्रिन्ट तत्काल जाँच गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्दैछ,’ बस्नेतले विज्ञप्तिमा भनेका छन् ।

बिहीबार राति प्रहरीले नेपालगञ्ज २० स्थित नमस्ते भिलेज रिसोर्टबाट शाहसहित ६ जनालाई पक्राउ गरेको थियो। प्रहरीले शाहको गाडीमा मेड इन युएसए लेखिएको पेस्तोल दुई राउन्ड गोलीसहित बरामद् भएको जनाएको छ।

 
 
  
 

You may also like