ओलीप्रति खनालको कटाक्ष : दुई/तीन जना आउने भनेको हो कि दुई तिहाइ बहुमत ?

by समतल अनलाइन

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा ‘कालजयी काम के भयो ?’ भन्दै प्रश्न गरेका छन् ।

वर्तमान संसद्को अन्तिम बैठकमा शनिबार उनले जनताले दुई तिहाइ बहुमत दिए पनि कुनै काम हुन नसकेको आरोप लगाए । ‘जनताले के काम सम्झने ? धरहरा ठड्याएँ भन्ने हो ? रानीपोखरी बनाएँ भन्ने हो ?’, खनालले प्रश्न गरे ।

उनले देशमा रूपान्तरण गर्ने हो भने कृषिक्रान्ति गर्नुपर्ने भए पनि क्रान्तिको ‘क’ पनि उच्चारण नभएको बताएका छन् । एमालेले अझै बहुमत ल्याउने दाबी गरेकोप्रति सांसद खनालले ‘दुई तिहाइ भनेको हो कि दुई/तीन जना ?’ भन्दै कटाक्ष समेत गरे ।

‘के भनेर उहाँहरू निर्वाचनमा जानुहुन्छ, मलाई बडा अनौठो लागिरहेको छ । के गर्छौँ भनेर जाने ? चार-चार वर्ष सरकारमा बस्दा किसानको कुनै समस्या अघि ल्याउँदै नल्याउने । फेरि पनि दुई तिहाइ चाहिँ ल्याउँछौँ भनिरहने । दुई तिहाइ के आउँथ्यो’, उनले भने, ‘दुई/तीन जना आउने भनेको हो कि ? साँच्चै दुई तिहाइ ! बडो अनौठो कुरा छ ।’

 
 
  
 

You may also like