विदेशी भूमिको भाइटीका– आफ्नै दाजुभाइ नभएको आभाष हुन दिदैनौं

by समतल अनलाइन

‘दाजुभाइ बनाएर’ सामूहिक भाइटीका लगाउँछन् श्रम गर्न विदेशिएका चेली

रमेश भारती

काठमाडौं। वैदेशिक रोजगारीका लागि विदेशी भूमिमा रहेका नेपाली चेलीले विदेशमै रहेका नेपाली दाजुभाइलाई टीका लगाएर तिहार मनाउँदै आएका छन् । घरबाट टाढा हुँदा दाजुभाइ माया अभाव हुन नदिन नेपाली दाजुभाईलाई नै भाइटीका लगाउने गरेको उनीहरुले बताएका हुन् ।

विदेशमा रहेका नेपाली महिला दिदीबहिनीले काम सकेपछि सामूहिक रुपमा भाइ टीका लगाउँदै आएका छन् । विदेशमा भएपनि तिहार जस्तो महत्वपूर्ण चाडमा समय निकालेर मनाउने गरेको उनीहरुले बताए ।

युएई रोजगारीमा कार्यरत पोखराकी रोजिता मगरले ५ वर्षदेखि तिहार युएईमै मनाउँदै आएको बताइन् । विदेशमा रहेका आफ्ना गाँउका दाजुभाइलाई बोलाएर टीका लगाइदिने गरेको मगरले सामाजिक सञ्जालमार्फत खबरसँग बताइन् ।

‘युएईमा रहेका नेपाली दाजुभाइ सवै माइती जस्तो लाग्छ । त्यही भएर उनीहरुलाई तिहारको टीका लगाउछौं । नेपालीहरुले चलाएको होटल अथवा विदेशीको होटलमा ४ घण्टाका लागि भाडामा लिएर टीका लगाउने कार्यक्रम गर्छौं’ उनले भनिन्, ‘केही वर्षदेखि रोजगारीका लागि युएई आएका नेपाली दिदी बहिनी मिलेर सामूहिक टीका लगाउने गरेको छौं । धेरै जना दाजुभाइ जम्मामा हुन्छन् ।’

विदेशी भूमिमा टीका लगाएपनि नेपालको जस्तो रमाइलो नहुने तर मनलाई सान्त्वना मिल्ने उनको भनाइ छ ।

यस्तै, अध्ययनका लागि जापान पुगेकी झापाकी संगिता मैनालीले जापानमा रहेका नेपाली दाजुभाइलाई भाइटीका लगाइदिने गरेको बताउँछिन् । तीन वर्षदेखि जापानमै तिहार मनाउँदै आएको मैनालीले बताइन् ।

‘जापानमा रहेका दिदीबहिनी मिलेर सामूहिक टीका लगाउन योजना रहेको छ । नेपाली दाजुभाइसँग एउटा पार्टीप्यालेसमा भेला भएर तिहारको टीका लगाउँदै आएका छौ । यो वर्षको तिहारको टीका पनि यसरी नै लगाउने हो’ उनले भनिन्, ‘विदेशमा नेपाली चाडपर्वको खासै महत्व हुँदैन । फेरि जापानमा धेरै नेपालीहरु रहेकाले टीका चाँही लगाउने चलन छ । तर, एक समय काम गरेर समय मिलाएर टीका लगाउनुपर्छ । अर्कोको देश आफुुले मन लागि चाडपर्व मनाउन पाइँदैन ।’

यस्तै, इजरायलमा रहेका नेपाली चेलीहरुले पनि आफूले काम गर्ने घरमा नेपालीलाई माइती बनाएर भाइटीका लगाउने गरेको बताउँछन् । झापाकी विनिता घिमिरे रोजगारका लागि ३ वर्षअघि इजरायल पुगेकी थिइन् । त्यसको एक वर्षपछि देखि इजरालयमै तिहार मनाउँदै आएको उनले बताइन् ।

‘इजरायलमा रहेको नेपाली दाजुभाइलाई भाइटीका लगाएर तिहार मनाउने गरेका छु । विदेशमा भएपनि भाइटीका र महत्वपूर्ण चाडपर्व भुल्न सकिँदैन रहेछ । मैले काम गर्ने घरमै बोलाएर आफनो सम्र्पकमा रहेका नेपालीलाई बोलाएर भाइटीका लगाइदिन्छु’ उनले भनिन्, ‘विदेशी नेपालीहरुले चाडपर्व मनाएको देखेर रमाइलो मान्छन् । मैले काम गर्ने घरमा नेपाली चाडपर्व मनाउन दिन्छन् । त्यही भएर सेल रोटी पकाएर नै तिहार मनाउने गरेको छु । नेपालमा जस्ता चाँही विदेशमा रमाइलो हुँदैन ।’

मगर, घिमिरे र मैनाली जस्तै अरु विदेशमा रहेका नेपाली चेलीबेटीले पनि दशैं तिहार मिलेर मनाउँदै आएका छन् । नेपालबाट रोजगारीका लागि गएका नेपाली दाजुभाइलाई भाइटीका लगाएर मनाउँदा नेपालमा भएको अनुभुति हुनेगरेको उनीहरुले बताउँछन् ।

विदेशमा करिब ११ लाखभन्दा धेरै महिला रोजगारी र अध्ययनका लागि पुगेको सरकारी अनुमान छ ।

 
 
  
 

You may also like