देशभर शनिबारसम्म पानी पर्ने

काठमाडौं । आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुन सक्रिय रहेकाले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।

‘प्रदेश न १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ’, उनले भनिन् । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान को आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।

विभागले आगामी २४ घण्टा देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको साथै प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको तथा उक्त भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ ।

रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, मधेस प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव पाँच डग्री र अधिकतम तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

 
 
  
 

You may also like