खरकाे छानाे हटाई सैनामैनाका ७७ घरमा जस्तापाता लगाइयो

सैनामैना , सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत सैनामैना नगरपालिकाले खरको छानाे हटाएर जस्तापाताकाे छानाे लगाउने अभियान सुरु गरेको छ ।
नगरपालिका क्षेत्रलाई खरको छानाेमुक्त बनाउने अभियान अनुसार नगरभित्रका विपन्न वर्ग, दलित र गारिबिको रेखामुनि रहेका सैनामैनाका ७७ घरपरिवारलाई ७५ हजार रकम बराबरकाे जस्तापाता वितरण गरिएको हो ।

संबिधानमा उल्लेखित मौलिक हक अन्तरगत गाँस, बास र कपासको अभावमा रहेकालाई नागरिकलाई खाना लाउने र बस्ने व्यवस्था नगरपालिकाले गर्ने नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले बताउनुभयो ।

गर्मीमा आगलागीबाट बच्न र वर्षातको समयमा पानी, झरी र हुरीबतासबाट पनि सुरक्षित रहन याे अभियान सुरु गरिएकाे नगरप्रमुख शर्माकाे भनाइ छ ।
नगर प्रमुख शर्माले भन्नुभयो, जस्तापाता वितरणका लागि सैनामैनाले मापदण्ड बनाएको छ जसमा गरीब, विपन्न, असहाय घरपरिवारलाई छनाेट गर्यौ । त्यसपछि हामीले पहिले तथ्याङ्क सङ्कलन गर्याैँ । प्राविधिक नापजाँच पछि हामीले जस्तापाता वितरण शुरु गरेका हौँ।” मापदण्ड अनुरुप सैनामैनाका ११ वटै वडामा खरको छानो भएका ७७ घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ ।

उहाँले कोही पनि नागरिक गरिवी र पैसाका कारणले खरको छानोमा वस्नुपर्ने वाध्यता रहन नदिने प्रतिवद्धता जनाउदै सैनामैनालाई खरको छाना मुक्त नगर बनाउने योजना बनाएको जानकारी दिनुभयो l

सैनामैनाका ११ वटा वडाबाट छनाेट भएका घरकाे वडागत विवरण अनुसार १ नम्बर वडामा ८ घर, २ नम्बर वडामा १४ घर, ३ नम्बर वडामा १० घर, ४ नम्बर वडामा १३ घर, ५ नम्बर वडामा ५ घर, ६ नम्बर वडामा ४ घर, ७ नम्बर वडामा ४ घर, ८ नम्बर वडामा ४ घर, ९ नम्बर वडामा ८ घर, १० नम्बर वडामा ५ घर र ११ नम्बर वडामा ४ घर लाई ७५ हजार रकम बराबर टिन ७७ जना घरपरिवारलाई टिन वितरण गरिएको सूचना शाखा प्रमुख केशव अर्यालले जानकारी गराउनुभयो ।
नगरपालिकाभित्र खरका छानालाई विस्थापित गरी पहिलाे चरणमा कुल रु. ५७ लाख ७५ हजारको लागतमा ७७ घरमा जस्तापाता छाउने कार्य भैरहेको प्रमुख अर्यालले जानकारी गराउनुभयो ।

अहिले नगरमा रहेका ७७ गरीब तथा विपन्न घरपरिवारले खरको छानो फालेर टिनको छानो लगाउन पाएकाेमा उनीहरू खुसी छन्।

 
 
  
 

You may also like