सल्यानमा सडक खन्दै गरेको एक्सकाभेटर पल्टिँदा चालक र सहचालकको मृत्यु

सल्यान । सडक खन्दै गरेको एक्सकाभेटर दुर्घटना हुँदा सल्यानमा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाग्चौर नगरपालिका-६ मा सिमखोलीस्थित मनिपोले- जामुनेचौर सडक खन्दै गर्दा रा १ क ७१९ नम्बरको एक्सकाभेटर शनिबार राति दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दाङको बबई गाउँपालिका-४ हापुरे घर भएका चालक ३३ वर्षीय देवराज खत्री र सहचालक छत्रेस्वरी गाउँपालिका १ दमाचौर घर भएका १८ वर्षीय चित्रबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । उनका अनुसार चालक खत्रीको घटनास्थलमै मृत्यु भएको थियो भने सहचालक विकको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको थियो ।

एक्सकाभेटर सडकदेखि अन्दाजी ३० मिटर तल भीरमा खसेको र कसरी दुर्घटनामा परेको भन्ने खुल्न नसकेको हुन सक्ने उनले जानकारी गराए । घटनास्थलको जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक र इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

 

 
 
  
 

You may also like