एमसीसीबारे छलफल हुँदै : संसद भवन र अमेरिकी दूतावास क्षेत्रमा सुरक्षा व्यवस्था कडा

by समतल अनलाइन

आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन कांग्रेस र लोसपाको ‘ह्वीप’
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध प्रदर्शन हुनसक्ने भन्दै आज (बिहीबार) संसद् भवन नयाँ बानेश्वर र अमेरिकी दूतावास आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

एमसीसीको विरोधमा नयाँ बानेश्वर आसपासका क्षेत्रमा हरेक दिनजसो विरोध प्रदर्शन हुन थालेपछि संसद् भवन आसपास सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ । संसद् बैठकमा एमसीसी टेबल भएको दिन गएको आइतवार प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको हो ।

आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसीमाथि छलफल गर्ने कार्यसूची छ । सुरक्षाका लागि संसद् भवनको मूल सडकसँगै रहेको पर्खालमा काँडेतार लगाइएको छ । प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने सम्भावित झडपलाई ध्यान दिएर पर्खाललाई तारले घेरिएको हो ।

संसद् भवनको आसपासका क्षेत्रसँगै अमेरिकी दूतावासलगायत कुटनीतिज्ञ नियोग आसपासका क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । यसैबीच, महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहान ११ बजेपछिको समयमा माइतीघर मण्डला-नयाँ बानेश्वर हुँदै यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी राख्न आग्रह गरेको छ ।

यो समयमा सकेसम्म यो रुटको साटो वैकल्पिक सडक प्रयोग गर्न पनि अनुरोध गरिएको छ । गएको आइतवार विरोध प्रदर्शनका कारण यो क्षेत्रमा लामो जाम भएको थियो भने झडपका क्रममा बाटो हिँड्ने बटुवा पनि समस्यामा परेका थिए ।

आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन कांग्रेस र लोसपाको ‘ह्वीप’
सत्तारुढ नेपाली कांग्रेसले आज बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिइन् । सचेतक भुसालले आजको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको बताइन् ।

हाल प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका ६३ जना सांसद छन् । तीमध्ये दुई जना निलम्बित छन् । सांसद प्रदीप गिरी उपचारका क्रममा भारतमा छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसीको पक्षमा मतदान गर्ने निणर्य गरेको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निणर्य गरेको हो ।

यस्तै, लोसपाले आजको संसद बैठकमा एमसीसीबारे छलफल हुने भएकाले आफ्ना सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन समेत दिएको छ । प्रतिनिधिसभामा लोसपाका १३ जना सांसद छन् ।

 

 
 
  
 

You may also like