गृहमन्त्री खाँण र अस्ट्रेलियन राजदूत भोल्कबीच भेटवार्ता

by समतल अनलाइन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कबीच शिष्टाचार भेटघाट भएको छ । गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा मन्त्री खाँण र राजदूत भोल्कबीच अस्ट्रेलिया र नेपालको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको थियो ।

त्यसक्रममा मन्त्री खाँणले विकासमा अस्ट्रेलियाले नेपाललाई गरिरहेको मद्दतका लागि धन्यवाद दिँदै कोभिड-१९ महामारी नियन्त्रणका लागि भ्याक्सिन सहयोग गर्न आग्रह गरेका थिए । उनले नेपालमा रहेका शरणार्थी व्यवस्थापन र नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा पढ्न सहज हुने व्यवस्था गरिदिन आग्रह गरेका थिए ।

‘नेपालमा रहेका शरणार्थीको व्यवस्थापन र नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा अध्ययनमा सहज व्यवस्था मिलाउन अस्ट्रेलियन सरकारसँग आग्रह छ,’ गृहमन्त्री खाँणले भनेको उदृत गर्दै उनको सचिवालयले भनेको छ, ‘त्यहाँ अध्ययनरत विद्यार्थीले पढाईका अलावा हप्तामा २० घण्टा काम गर्न पाउँछन् । त्यो समय केही बढाउने वातावरण मिलाउन पनि आग्रह छ ।’

जवाफमा नेपालका लागि अस्ट्रेलियन राजदूत भोल्कले नेपाल पुरानो मित्र भएकाले आफूहरूले सक्ने सहयोग गर्न सदैव तयार रहेको बताएकी थिइन् । उनले नेपाली विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण निर्माणबारे आफूले पहल गर्ने बताएकी छन् ।

 

 
 
  
 

You may also like