तिलोत्तमामा १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप

by समतल अनलाइन

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १८ वर्ष माथिका सबै नागरिकलाई सोमबार र मंगलबार कोरोनाविरुद्धको खोप लगाइँदै छ । यसअघि कोरोना विरुद्धको खोप नलगाएका १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाइने व्यवस्था मिलाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

खोपको सहज व्यवस्थापनको लागि नगरपालिकाका १७ वटा वडामैं खोप केन्द्र निर्धारण गरिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीको परिपत्रअनुसार सोमबार र मंगलबार कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाको भनाइ छ ।

तिलोत्तमा नगरपालिकामा १८ वर्षमाथि कोरोना विरुद्धको पहिलो खोप नलगाएका झण्डै २७ हजार नगरबासी रहेको अनुमान छ । नगरमा झण्डै ४८ हजार जनाले यसअघि नैं कोरोनाविरुद्धको खोप लगाइसकेको स्वास्थ्य शाखाको तथ्यांक छ ।

यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका नगरबासीले पनि तोकिएको समयसीमा पूरा भएको अवस्थामा सोमबार र मंगलबार खोप लगाउन सक्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

हरेक वडा कार्यालय र स्वास्थ्य संस्थाहरुले आफ्नो कार्यक्षेत्रमा रहेका नागरिक खोपबाट नछुटुन् भनेर आ—आफ्नो तरिकाले सूचना प्रकाशन, माइकिङ, जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था, स्वास्थ्य स्वयमंसेविका मार्फत् प्रचारप्रसार गरेका छन् । नगर प्रमुख बासुदेव घिमिरेले कोरोनाविरुद्धको खोपबाट १८ वर्षमाथिका कुनै पनि नगरबासी नछुटुन् भनेर सूचना प्रवाह टोलस्तरमा पुर्याइएको बताउँदै आफूलाई पायक पर्ने खोप केन्द्रमा पुगेर खोप लगाउन सबै नगरबासीलाई आग्रह गरे ।

 
 
  
 

You may also like