बुटवल। विपन्न बर्गमा कर्जा प्रवाह गरि उत्पादन मुलक लगानी गर्न उक्साउने र आम्दानीबाट कर्जा चुक्ता गर्न सिकाउने उदेश्य सहित सरकारले लघुवित्तको परिकल्पना गरेको थियो । सोही परिकल्पना अनुसार अहिले नेपालका ग्रामिण क्षेत्रमा लघुवित्तिय संस्थाहरुले अर्वौको कर्जा प्रवाह गरिरहेका छन् । तर, यस्ता संस्थाहरुले प्रवाह गरेको कर्जाले ग्रामिण क्षेत्रका विपन्न मानिसलाई उत्पादन मुलक नभई झन् झन् गरिब बनाउँदैं लगेको भनी अहिले लघुवित्तिय संस्थाको भूमिकाबारे नै चर्का प्रश्नहरु उठ्न थालेका छन् । यसो त, लघुवित्तिय संस्थाकै कारण स्वरोजगार बन्न पुगेका मानिसहरुको संख्या कम भने छैन ।
यसैबिच बुटवलमा प्रधान कार्यालय रहि प्रदेश ५ का सबै जिल्लाहरुमा वित्त कारोबार गरिरहेको चौतारि लघुवित्तका व्यवस्थापक हरिकृष्ण जोशीसँग समतल अनलाईनले केही दिन अगाडी कुराकानी गरेको थियो । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अँशः
लघुवित्तिय संस्थाहरुले विपन्नको विल्लीबाँठ पारे भन्ने आरोप छ नी !
यो कुरालाई म मान्दिन । ग्रामिण क्षेत्रमा वृहत्तर बढेको वित्तिय चेतनाको मुख्य श्रेय लघुवित्तिलाई नै जान्छ । पहिले पैसा नै नचिनेका विपन्न बर्गका मानिसहरुले अहिले वित्तको भाषा जानेका छन् । उनिहरुले पैसा लाई कसरी परिचालन गर्ने बुझेका छन् । लघुवित्तको मार्गदर्शन कै कारण अतिविपन्नबाट समुन्नत बन्न पुगेका मानिसहरुका स्टोरीहरु संचारमाध्ययममा आईरहेकै पनि छन् । यस्ता आरोपले ग्रामिण क्षेत्रमा बढेको वित्तिय चेतनाको महत्व पुर्ण उपलब्धीलाई नजरअन्दाज गर्न खोजेको देखिन्छ । जुन सहि होइन ।
ती आरोपहरु निराधार हुन् त त्यसो भए ?
निराधार नहुन सक्छन् । विद्यमान गरीबीलाई माथि उठाउन लघुवित्तले निकै भूमिका खेलेको छ । तरपनि केही विपन्न परिवारहरुलाई कर्जा प्रवाह गर्दा उनिहरुले कसरी लगानी गर्ने भन्ने मेसो पाउँदैंनन् । पैसा भनेको खर्च गर्ने कुरा हो भन्ने बुझाई पनि हुन्छ अधिकांशको । तर, लघुवित्तले गरिब तथा विपन्नलाई पैसाको कर्जा दिएर उक्त कर्जाको कहाँ लगानी गरी कसरी आम्दानी गर्ने भन्ने सम्म सिकाएका छन् । धैरै स्थानमा गरिवी निवारणका लागि यो प्रभावकारी देखिएको छ । तर, पनि केही विपन्न परिवारको मानसपटलमा पैसाका परिचालन भनेको खर्च गर्ने नै हो भन्ने बुझाई छ । सोही मानसिकतालाई परिर्वन गर्न नसक्दा कर्जाको केही हिस्सा अनुत्पादक क्षेत्रमा प्रवाह भएको भने साँचो कुरा हो ।
त्यसो भए कसरी वित्तीय चेतनाको प्रवाह गर्ने त ?
विपन्न परिवारसँग जोडीएका वित्तिय संस्थाहरु भनेका सहकारी र लघुवित्तहरु नै हुन् । बैंकहरुको पहुँच अझै पनि पुग्न सकिरहेको छैन । त्यसैले वित्त चेतना प्रवाहका लागि सहकारी र लघुवित्तले नै कार्यक्रमहरु ल्याउन जरुरी देखिन्छ । हाम्रो अघुवित्तको हकमा हामीले बर्षेनी यस्ता कार्यक्रमहरु सञ्चालन गरेका छौं । हामिले कर्जा प्रवाह गर्नु अगाडी र पछाडी पनि क्रृणीहरुलाई सचेत गराउने गरेका छौं ।
यत्तिले पुग्ला त ?
पुग्छ भनेको होइन । लघुवित्त र सहकारी संस्थाहरले प्रभावकारी भुमिका खेलेपनि समाजमा पैसा बारे रहेको बुझाईलाई निखार्न सकिन्न । वास्तवमा प्रत्यक नेपालीको एक बैंक खाता भन्ने जुन सरकारी नीति छ यो प्रभावकारी हुन नसक्नुको कारण पनि वित्तिय चेतनाको अभाव नै हो । यसका लगि त सरकारी तवरबाटै यसमा लगानी गर्नु पर्छ जस्तो लाग्छ । वित्तिय चेतनाका लागि ग्रामिण क्षेत्रमा अभिमुखीकरण तथा तालिमहरु सञ्चालन गर्न सरकारी तवरबाटै कार्यक्रम आउनु पर्छ भन्ने मेरो तर्क हो । यसका लागि सहकारी र वित्तिय संस्थाहरु सहकार्य गर्न तैयार हुनु पर्छ ।
त्यसो भए लघुवित्तिय संस्थाहरुलाई अझै प्रभावकारी बनाउन के गर्नु पर्ला ?
बाँसको ढुँग्रामा पैसा लुकाएर राख्ने आमाहरुलाई बैंक चिनेका छन् । कर्जा केहो बुझेका छन् । कसरी लगानी गर्ने भनेर सिकेका छन् । अनि त्यसबाट कसरी आम्दानी गर्ने र फेरी लगानी गर्न सक्ने भएका छन् । दुई चार शब्दमा वित्तिय संस्थाको प्रभावकारीतालाई वर्णन गर्न सकिदैंन । तर, अघि भनेजस्तै पैसा प्रतिको विपन्न तथा गरिब परिवारको पुरै धारणा परिर्वन गर्न केहीकाम गर्नुपर्ने देखिन्छ । त्यसमा थप केही लगानी बढाएर चेतनाको अभिवृद्धी गर्न सकेमा थप प्रभावकारी हुनसकिन्छ ।