सबै कम्युनिष्ट र मधेसवादी एक भएर आउन, कांग्रेस एक्लैले बहुमत ल्याउँछ : गगन

by समतल अनलाइन

काठमाडौ । सत्तारुढ नेपाली कांग्रेसका नेता गगन थापाले नागरिक बीचमा गएर भरोसा जगाउन सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन् । काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले १४ औं महाधिवेशनमा केन्द्रदेखि वडासम्म जनतामा आशा र भरोसा दिलाउन सक्ने नेता चाहिएको बताएका हुन् ।

उनले भने, ‘हामीलाई चाहे खुल्ला मञ्च, सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने कांग्रेस चाहिएको छ । नागरिकहरुको टुटेको मन जोड्ने काँग्रेस चाहिएको छ ।’ काँग्रेस अहिलेको यथास्थितीवादले जनताको विश्वास जित्न नसक्ने थापाको भनाइ छ । ‘आज जसरी चलेको छ यसले यसले काँग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन’ उनले भने ।

थापाले काँग्रेसभित्र सुदृढीकरण र सुधारको खाँचो रहेको औंल्याएका छन् । तहगत अधिवेशनले काँग्रेस सुधार गर्न भूमिका खेल्नुपर्नेमा थापाको जोड थियो । आगामी तीन तहको निर्वाचनबाट काँग्रेस पहिलो पार्टी बनाउनु पर्नेमा जोड दिए । सम्पूर्ण कम्युनिष्ट र मधेसवादी दल मिले पनि काँग्रेस पहिलो पार्टी बन्ने गरी काम गर्न थापाको आग्रह छ ।

‘काँग्रेसले कसैसँग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो । कम्युनिष्ट, मधेसवादी मिले भने पनि काँग्रेसले जित्ने गरी काम गर्नुपर्छ । हामीले पाँच वर्ष सरकार चलाउनका लागि एकलै बहुमत ल्याउनु पर्छ’ थापाले भने ।

 
 
  
 

You may also like