दार्चुला तुइन र हेलिकोप्टर प्रकरण : सरकारले बल्ल पठायो भारतलाई कूटनीतिक नोट

by समतल अनलाइन

काठमाडौं। दार्चुला तुइन प्रकरणमा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ । दार्चुला तुइन प्रकरणमा छानविन समितिले घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संलग्नता देखिएको प्रतिवेदन बुझाएपछि सरकारले भारतलाई कूटनीतिक नोट पठाएको परराष्ट्र स्रोतले जनाएको छ ।

छानविन समितिले प्रतिवेदन दिएको एक सातापछि सरकारले भारतलाई कूटनीतिक नोट पठाएको हो । तुइन प्रकरणको सत्य–तथ्य पत्ता गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा साउन १७ गते छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले भदौ १५ गते प्रतिवेदन बुझाएको थियो ।

साउन १५ गते महाकाली नदी तर्दा तुइन चुँडिएर ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए । तुइन तर्दै गर्दा एसएएबीले तुइनको लठ्ठा काटिदिएको बताइएको छ । घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले साउन १७ गते समिति बनाएको थियो । छानबिनका क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को घटनामा संलग्नता भएको प्रत्यक्षदर्शीले बताएका थिए । तर, छानबिन प्रतिवेदन आइसकेपछि पनि भारतसमक्ष औपचारिक रुपमा पत्र पठाउन आनाकानी भइरहेको थियो ।

यस्तै, नेपालले दार्चुला क्षेत्रको नेपाली आकाशमा अनुमति नलिकन हेलिकोप्टर उडाएको विषयमा पनि भारतलाई पत्र पठाएको छ । विना अनुमति नेपाली आकाशमा हेलिकप्टर उडाएकोमा गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि दोहोरिन नदिन पत्रमार्फत भारतको ध्यानाकर्षण गराइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

 
 
  
 

You may also like