कुटपिट गरी युवकको हत्या, दुई साथी पक्राउ

जनकपुरधाम । धनुषा एक युवकको हत्या भएको छ । शहीदनगर नगरपालिका– ३ गोठकुहाका २५ वर्षीय गोबिन्द यादवको कुटपिट गरी हत्या भएको हो ।

यादव मंगलबार बिहान ७ बजे घर नजिकै सडक छेउको कर्कलो बारीमा गम्भीर घाइते अवस्थामा फेला परेका थिए । उनको उपचारको क्रममा दिउँसो विराटनगरमा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जानकारी दिएका छन् ।

टाउको र मुखमा गम्भीर चोट लागेको अवस्थामा पेला परेका गोबिन्दलाई तत्कालै उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरमा लागिएको थियो । जनकपुरमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि विराटनगरस्थित न्युरो हस्पिटलमा रेफर गरिएको थियो । उपचारको क्रममा गोबिन्दको मंगलबार दिउँसो मृत्यु भएको डिएसपी मिश्रले जानकारी दिए ।

गोबिन्दको निर्घात कुटपिट गरी हत्या गरेको दाबी उनका परिवारका सदस्यले गरेका छन् । कुटपिटमा संलग्न भएको आशंकामा प्रहरीले उनका दुई जना साथीलाई पक्राउ गरेको छ । ‘गोबिन्दको हत्या आशंकामा उनका दुई जना साथीलाई नियन्त्रणमा लिएर अनुसन्धन थालेका छौं,’ डिएसपी मिश्रले भने ।

स्थानीय बासिन्दाले अज्ञात समूहले सोमबार राति नै मरासन्न हुनेगरी कुटपिट गरी झाडीमा फालेर भागेको हुन सक्ने बताएका छन् । आफन्तले गोबिन्दको हत्या भएको दावी गरेका छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

 

 
 
  
 

You may also like