११ कुराहरु जुन उच्च मनोबल वा बलियो मनस्थिति भएका मानिसहरुले कहिलै गर्दैनन्

by समतल अनलाइन

बलियो मनस्थिती भएका मानिसहरुको बानी स्वस्थ हुन्छ । स्वस्थ हुनुको अर्थ शारिरिक मात्रै होइन, सामाजिक र मानसिक पनि हो । बलियो मनस्थिती भएकाहरु आफ्नो आवेग, विचार र व्यवहारलाई व्यवस्थित गर्न सक्छन्, जसले उनीहरु जीवनमा सफल हुन्छन् ।

उनीहरुले आफ्नो जीवनमा के के गर्ने भन्ने कुराहरु तय गरेका हुन्छन् । त्यस्तै उनीहरुको प्राथमिकता पनि सुनिश्चित हुन्छ । यसका अतिरिक्त उनीहरुमा केहि यस्तो स्वभाव हुन्छ, जुन कुराले उनीहरुको जीवनमा नकारात्मक कुराहरु अलिक टाढा नै बस्छन् । उनीहरु सकेसम्म आफ्नो जीवन तनावरहित बनाउँन कोशिस गर्छन् ।

बलियो मनस्थिती भएका मानिसहरु नकारात्मक विचार आउँने वा आफ्नो दिमागको शक्ति बिनाकारण खर्च गर्ने कामहरुबाट टाढा बस्छन् । यहाँ मैले बलियो मनस्थिती भएका मानिसहरुका ११ वटा कुराहरुको बारेमा लेख्न गइरहेको छु जुन उनीहरु कहिलै पनि गर्दै गर्दैनन् ।

विश्वास छ, तपाई यसमा भएका कुराहरु मज्जाले पढ्नुहुनेछ र आफ्नो जीवनमा तपाई पनि यस्ता ११ वटा कुराहरुबाट आफुलाई टाढै राख्नुहुनेछ । यसका साथै, तपाई यो लेख बढि भन्दा बढि सेयर गरेर सकेसम्म धेरैसम्म पुर्याउँनुहुनेछ ।

१. आफ्नो अवस्थामा दुखी भएर समय बर्बाद गर्दैनन्

बलियो मनस्थिती भएका मानिसहरु आफ्नो अवस्थाका बारेमा सोचेर दुखी भएर बस्दैनन् । उनीहरु आफ्नो अवस्थाको कारण अरु कोही व्यक्ति वा समयलाई दोष दिएर पन्छिन खोज्दैनन् । उनीहरु बरु आफ्नो अवस्थामा आफ्नो भुमिकालाई स्विकार्छन् र सो अवस्थाबाट राम्रो अवस्था वा झन् राम्रो अवस्थामा कसरी पुग्ने भन्ने समाधानका उपायहरुका बारेमा सोच्छन् ।

जीन्दगी सँधै राम्रो मात्रै हुन सक्दैन भन्ने कुराहरु उनीहरुलाई थाहा हुन्छ । उनीहरु आफुले राम्रो गरेमा राम्रै हुनु पर्छ भन्ने सोच्दैनन् ।

२. उनीहरु आफ्नो सामर्थ्यलाई अरुको अधिनमा राख्दैनन्

आफ्नो काम वा अवस्था अरुको कारणले भन्दै आफु माथि अरुलाई हाबी हुन दिदैनन् । ‘मेरो परिवारले यस्तो गर्यो’ वा ‘मेरो हाकिमका कारण यस्तो भयो’ जस्ता बहाना उनीहरु सुनाउँदैनन् । उनीहरु बुझ्छन् कि कुन अवस्थामा आफ्नो आवेग वा सामर्थ्यलाई कसरी प्रयोग गर्नु पर्छ ।

उनीहरु समय र अवस्था अनुसार आफ्नो सामर्थ्यलाई प्रयोग गर्छन् । कसैको बहकाउमा लागेर जहाँ सुकै आफ्नो सामर्थ्य प्रदर्शन गर्दैनन् ।

३. उनीहरु परिवर्तनलाई नकार्दैनन्

परिवर्तनलाई रोक्नमा उनीहरु आफ्नो शक्ति लगाउँदैनन् । बरु के कस्तो परिवर्तन भएका छन् वा हुन सक्छन् र सो परिवर्तन भएको अवस्थामा आफु कसरी अब्बल हुने भन्ने बारेमा उनीहरु सोच्छन् । बद्लिदो अवस्थामा आफुलाई अब्बल बनाउँन परिश्रम गर्छन् । उनीहरु व्यवहारिकरुपमा स्विकार्छन् कि संसारमा परिवर्तन मात्रै स्थायी हुन्छ, अरु सबै कुरा परिवर्तन हुन्छन् ।

४. आफुले बदल्न नसक्ने कुरामा आफ्नो शक्ति खर्च गर्दैनन्

जुन कुरामा आफ्नो कुनै भुमिका नै हुदैन वा आफुले जति प्रयत्न गरे पनि कुनै कुरालाई बदल्न सकिदैन भने उच्च मनोबल भएका मानिसहरु त्यसमा आफ्नो शक्ति खर्च गर्दैनन् । उनीहरु यस्ता कुराहरुलाई हुन दिन्छन् र त्यसलाई स्विकार्छन् । त्यसमा आफुलाई समाहित गर्छन् ।

५. उनीहरुलाई हरेकलाई खुसी बनाउँन नसकेकोमा पिर मान्दैनन्

शास्त्र हेनुभयो भने पनि बुझ्नुहुन्छ कि देउताले पनि सबैलाई खुसी बनाउँन सकेका हुदैनन र राक्षस वा दैत्य जन्मिन्छन् । यस्तोमा मानिसले सबैलाई खुसी बनाउँन सक्छु भन्ने कुरा सोच्नु नै भ्रम हो । यो भ्रमले अन्तत: आफैलाई दुख दिन्छ । आफ्नै मनमा नकारात्मकता भरिदिन्छ । यसैले बलियो मनस्थिती वा उच्च मनोबल भएका मानिसहरु सबैलाई खुसी बनाउँन सकिन भन्नेमा पिर मान्दैनन् । उनीहरु सहि काम गर्छन् र त्यसको अरुमा पर्ने नकारात्मक असरहरु सकेसम्म कम गर्छन् ।

६. उनीहरु जोखिम उठाउँन डराउदैनन्

बिद्धानहरुले भनेका छन्, “जोखिम उठाउ । सफल भयौ भने खुसी हुन्छौ । असफल भयौ भने ज्ञानी हुन्छौ ।” बलियो मनस्थिती भएका मानिसहरु व्यवहारिकरुपमा नै यो कुरासँग परिचित हुन्छन् । उनीहरु व्यवसायिक वा आफ्नो करिअरका लागि जोखिम उठाउँन डराउँदैनन् । उनीहरु अरुले हुन्न भनेको कुरामा पनि हिसाब गरेर जोखिम उठाउँछन् ।

७. उनीहरु विगतमा घोरिरहदैनन्

विगत यस्तो कुरा हो जसलाई बदल्न सकिदैन तर त्यसबाट सिक्न सकिन्छ । तर त्यसो भन्दैमा विगतमै मात्रै घोरिनु सहि हुन्न । यसले वर्तमानको समय खोस्छ भने भविष्यलाई झन् भद्रगोल बनाउँछ । यसैले उच्च मनोबल भएका मानिसहरु विगतबाट सिकेर अगाडी बढ्छन् ।

८. उनीहरु गल्तिहरु दोहोर्याइरहदैनन्

गल्ति नगर्ने कोही पनि हुदैन । उच्च मनोबल भएका मानिसहरु जोखिम उठाउँछन्, कतिपय अवस्थामा सो कुरा गल्ति हुन सक्छ वा अन्य कुनै कुरामा पनि गल्ति हुन सक्छ । यस्तो हुनु सामान्य हो तर उनीहरु त्यस्ता गल्तिहरु दोहोर्याउँदैनन् । आफ्नो गल्तिबाट सिक्छन् ।

९. अरुको सफलतासँग जल्दैनन्

सफल हुनु केवल संयोग मात्रै होइन । कोही सफल हुन्छ भने उसले सफल हुनु भन्दा अगाडी धेरै परिश्रम वा संघर्ष गरेको हुन्छ । उच्च मनोबल भएका मानिसहरु अरुको सफलता भित्रको रहस्य वा परिश्रमलाई नजरअन्दाज गर्दैनन् । अरुको सफलतासँग इर्ष्या गर्दैनन् । उनीहरु अरु सफल भएको कुरालाई उदाहरणका रुपमा बुझ्छन् ।

यसरी अरुको कथाबाट पनि आफ्नो जीवनको बाटो बनाउँन केहि कुरा सिकिरहेका हुन्छन् । उच्च मनोबल भएका मानिसहरुलाई थाहा हुन्छ कि सफल भएका मानिसहरुको सफलतासँग जल्नु भन्दा उनीहरुको सफलताको कथा सुन्नु र उनीहरुको संगत गर्नु बढि फलदायी हुन्छ ।

१०. उनीहरु असफल हुने बित्तिकै हाप्दैनन्

सोचेका सबै कुरा व्यवहारमा लागू गर्न सकिने भए वा गरेका कामहरु सबै एकै पल्टमा सफल हुने भए मानव सभ्यता यस्तो मात्रै हुन्थ्यो होला र ? पक्कै पनि हुदैन थियो । यसरी एकै पल्टमा सफल हुने हो भने सफल हुने मान्छेहरु समाजका आदर्श पनि बन्दैनन् थिए होला । यो वास्तविक कुरा हो ।

यहि कुरालाई आत्मसाथ गर्दै बलियो मनस्थिती भएका मानिसहरु एकै पल्टमा सफल हुने जिद्दी गर्दैनन् । उनीहरु असफल भए पछि पुन: कोशिस गर्छन् । आफुले के के कुरा सुधार्न सकिन्छ वा आफ्नो कमजोरी कुन ठाउँमा रह्यो भन्ने कुरामा ध्यान दिन्छन् ।

११. उनीहरु तत्कालै प्रतिफल खोज्दैनन्

‘तातै खाउँ, जली मरुँ’ उखानले भन्छ, हतार गर्दा अफ्ठ्यारो हुन्छ । आफैलाई हानी हुन्छ । त्यसैले उच्च मनोबल भएका मानिसहरु तत्कालै कुनै कामको प्रतिफल खोज्दैनन् । उनीहरु आफुले गरेको कामको प्रतिफल आउँने समयसम्म लगनशील र धैर्यवान भएर पर्खिन्छन् ।

कुनै पनि कुराको तत्कालै प्रतिफल खोज्दा कामप्रतिको चाहना तत्कालका लागि त एकदमै बढ्छ तर केहि समयमा नै त्यो चाहना र उत्सुकता कम हुन पुग्छ । यदि प्रतिफलका लागि पर्खिन सक्ने हो भने लामो समयसम्म उत्तिनै जागरुक भएर प्रयत्न गर्न सकिन्छ ।

 
 
  
 

You may also like