बाढी–पहिरो र डुबानमा परी हालसम्म ३४ जनाको मृत्यु, २४ जना बेपत्ता

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार बिहानसम्म ३४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा १९ जना पुरुष, ९ जना महिला, ३ जना बालक र ३ जना बालिका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पामा ३ जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा २–२ जना, ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १–१ जना छन् ।

बाढी पहिरो र डुबानमा परी ४४ जना घाइते भएका छन् । तीमध्ये २४ जना पुरुष, ११ जना महिला, ६ जना बालक र ३ जना बालिका रहेका छन् । उनीहरूमध्ये तनहुँमा १० जना, सिन्धुपाल्चोक र रोल्पामा ५–५ जना, म्याग्दी, सर्लाही, कास्की र डोटीमा ३–३ जना, जुम्ला र गोरखामा २–२ जना, पाँचथर, रौतहट, स्याङ्जा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा १–१ जना छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ । बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । तीमध्ये १५ जना पुरुष, ६ जना महिला, २ जना बालक र १ जना बालिका छन् । उनीहरूमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना र बाजुरामा १ जना रहेका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

बाढी तथा पहिरोमा परेका एक हजार २५० जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा ६५६ जना, चितवनमा ४०२ जना, सिन्धुपाल्चोकमा १२३ जना, दोलखामा ३५ जना, लमजुङ र सल्यानबाट ८–८ जना, जाजरकोटमा ७ जना, गोरखा र दाङमा ४–४ जना र कञ्चनपुरमा ३ जना रहेका छन् । उद्धारपश्चात् उनीहरूलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ । साथै वर्षाको कारण ललितपुर, मोरङ, नवलपरासी (पूर्व), चितवन र बाजुरा लगायतका स्थानहरूमा बिहीबार र शुक्रबार बिहान पहिरो गई अवरोध भएको सडक पहिरो हटाइ सुचारु गराउने कार्य जारी छ ।

बाढीको कारण ३९७ वटा घर डुबानमा परेका छन् । ४९१ वटा घर, ८४ वटा गोठ, ३८ वटा पुल, ३ वटा विद्यालय र १० वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार ४३ वटा घरका ४ हजार ९५५ जना मानिस विस्थापित भएका छन् भने ८०२ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा ३३० वटा विपद्का घटना भएका छन् ।

उक्त घटनाबाट प्रभावित स्थानहरूमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरू उद्धारमा सक्रिय रूपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

 

 
 
  
 

You may also like