छ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । नेपालमा आज (मंगलबार) पनि मौसम बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् । आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश–२ र वागमती प्रदेशका केही स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभगका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार आज राति देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 
 
  
 

You may also like