कोरोनाबाट एकै घरका दाजुभाइको मृत्यु

उदयपुर । कोरोना भाइरस संक्रमणबाट उदयपुरमा एकै घरका दुई दाजुभाइको चार दिनको फरकमा ज्यान गएको छ । रौतामाई गाउँपालिका–७ मुर्कुचीका ५० वर्षीय पुस्कल मस्राङ्गी मगर, ४५ वर्षीय तुलबहादुर मस्राङ्गी मगरको चार दिनको फरकमा ज्यान गएको हो । पुस्कल परिवारका जेठो छोरा हुन् भने तुलबहादुर साइलो हुन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि पुस्कललाई विराटनगरस्थित नोवेल शिक्षण अस्पताल र तुलबहादुरलाई विराट मेडिकल कलेजमा उपचार भएको थियो । उपचारकै क्रममा १५ गते राति तुलबहादुरको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए । उनको शव १६ गते गाउँमै ल्याएर व्यवस्थापन गरिएको थियो ।

परिवारको सदस्यको मृत्युपछि काजकिरिया सुरु भएको तेस्रो दिन जेठ १८ गते जेठो दाजु पुस्कलको पनि नोवेल अस्पतालमा मृत्यु भएको सुवेदीले जानकारी दिए । स्थायी घर रौतामाई–७ मुर्कची भएर त्रियुगा नगरपालिका–११ गाईघाटमा बस्दै आएका तुलबहादुरको श्रीमती, एक छोरा र दुई छोरी छन् भने मुर्कुची बस्दै आएका पुस्कलका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

दुई साता अघि एकै पटक घरका तीन दाजुभाइमा कोरोना देखिएपछि उनीहरु मदन भण्डारी आँखा अस्पताल गाइघाटको आइसोलेसन वार्डमा उपचार गर्दै थिए । उपचारका क्रममा पुस्कल र तुलबहादुरको अवस्था गम्भीर बन्दै श्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि विराटनगर पठाइएको थियो । योसँगै उदयपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

 
 
  
 

You may also like