संसद विघटन : मुद्दाको पेसी मंगलबार, दुई न्यायाधीश रहने / नरहने भोलि निर्णय

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाइका लागि मंगलबार संवैधानिक इजलासमा पेसी तोकिएको छ । आज (आइतबार) पनि यसमा बहस भएको थियो । आइतबारको बहसमा कांग्रेस सभापति शेरबहादुर देउवा तथा १४६ रीट निवेदक सांसद्का तर्फबाट बहस गरेका वकिलहरूले संवैधानिक इजलासको गठनमाथि प्रश्न उठाएका थिए ।

वरिष्ठ अधिवक्ता शम्भु थापा र गोविन्द बन्दीलगायत वकिलहरूले इजलासमा न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राखिएकोमा प्रश्न उठाएका थिए । उनीहरुकले अहिलेको राजनीतिक परिस्थिति उत्पन्न हुनुमा नेकपा विभाजन गर्ने सर्वोच्चको फैसलालाई कारण भन्दै श्रेष्ठले त्यो आदेश गरेको र केसीले त्यसमाथि पुनरावलोकन दिन अस्वीकार गरेको भन्दै यी दुई न्यायाधीशलाई प्रतिनिधिसभा विघटन मुद्दाको इजलासलमा राख्न नमिल्ने तर्क गरेका थिए ।

सर्वोच्च अदालतका प्रेसविज्ञ किशोर पौडेलका अनुसार संवैधानिक इजलासमा न्यायाधीशहरु श्रेष्ठ र केसी रहने–नरहनेबारे भोलि (सोमबार) निर्णय हुनेछ । आइतबारको बहसपछि प्रधानन्यायाधीशले दुई न्यायाधीशलाई इजलासमा बस्ने–नबस्ने आफैं निर्णय गर्न भनेका छन् ।

उनीहरुको निर्णय सोमबार मात्रै आउने भएकाले इजलास पुर्नगठन हुने नहुने सोमबार टुंगो लाग्नेछ । यसअघि कानुन व्यवसायीले दायर गरेका ८ वटा रिटमाथि प्रारम्भिक सुनुवाइ भइसकेको छ । यस्तै अन्य १९ रिट नियमित इजलासमा सुनवाइपछि संवैधानिक इजलासमा ल्याइएको छ । सबै रिटमाथिको सुनुवाइपछि अन्तरिम आदेश दिने नदिने र मुद्दाको नियमित सुनुवाइ कहिलेबाट गर्ने भन्ने टुंगो लाग्नेछ ।

 

 
 
  
 

You may also like