आइसियु बेड नपाएर कोरोना संक्रमितको मृत्यु

बुटवल ।लुम्बिनी प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको आइसियु बेड नपाएर मृत्यु भएको छ। २४ घन्टा देखि अस्पतालको इमर्जेन्सीमा बसेर बेड प्रतीक्षामा गर्दागर्दै आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

बुटवल ११ का ८३ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि बैशाख १५ गते अस्पताल पुर्‍याइएको थियो । कोरोनाको लक्षण देखिएपछि १५ गते स्वाव संकलन गरिएकोमा १६ गते उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएसँग बेडको प्रतीक्षामा इमर्जेन्सीमा अक्सिजनको सहायतामा राखिएकामा उनको आज बिहान साढे ९ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

उनका अनुसार, लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको अत्यधिक भीड भएपछि हाल फिबर क्लिनिकसहित इमर्जेन्सीमा समेत कोरोना संक्रमितलाई राखेर उपचार चलिरहेको छ । कोरोना विशेष अस्पताल र भिम अस्पतालका सबै बेड भरिएपछि लुम्बिनीले फिबर क्लिनिक र इमर्जेन्सीलाई समेत कोरोना उपचारमा प्रयोग गरेको हो । अघिल्लो हप्ता पनि देवदह नगरपालिकाका वडाध्यक्षका श्रीमतीको आईसीयू नपाएर फिबर क्लिनिकमा ज्यान गएको थियो ।

 
 
  
 

You may also like