विश्वकै सबैभन्दा बढी वायु प्रदूषण काठमाडौंमा, तुँवालो अझै केही दिन रहने

काठमाडौं । पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले काठमाडौं उपत्यकामा बाक्लो तुवालो लागेको छ ।

विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण काठमाडौंमा देखिएको छ । विश्वभरका शहरको हावाको शुद्धता मापन गर्ने आइक्यू एअर डटकमका अनुसार काठमाडौंको एक्यूआई अहिले ४२१ रहेको छ । हिजोदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँको हावाको प्रदूषण अझै केही दिन रहने भएको छ ।

हिजो स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको हावाको प्रदूषण खतराको अवस्थाबाट अझै तल झरेको छैन । हिजो काठमाण्डौमा एक्यूआई ४७० सम्म पुगेको थियो । हिजोको तुलनामा केही कम भएको देखिए पनि यो सुधार हुन अझै केही दिन लाग्ने वातावरण विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएकाले प्रदूषण बढ्न गई पारदर्शिता समेत घटेको जनाएको छ ।

स्थिर रहेको वायुमण्डल आगामी केही दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद् सविना शाक्यले जानकारी दिएकी छिन । यसबाट हुने प्रदूषणको कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदिबाट बच्न आवश्यक कार्य बाहेक घर बाहिर ननिस्किन र निस्किनुपरेमा मास्क लगाउन हुन र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 
 
  
 

You may also like