माओवादी केन्द्रले गृहमन्त्री बादलसहितलाई मन्त्रिपरिषदबाट फिर्ता बोलायो

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शनिबार) बिहान बसेको स्थायी कमिटी बैठकले ओली सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको नेता लिलामणि पोख्रेलले जानकारी दिएका छन् ।

ओली सरकारमा सहभागी गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीलाई फिर्ता हुन माओवादीले निर्देशन दिएको हो ।

बैठकले चैत २ गतेका लागि आह्वान गरिएको राष्ट्रिय कार्यकर्ता भेला पनि स्थगित गरेको छ । ‘बैठकले एमालेको केन्द्रीय समितिमा सिफारिस भएका हाम्रो पार्टीका २३ जना नेतालाई आफ्नो पोजिसन २४ घण्टाभित्र स्पष्ट पार्न पनि निर्देशन दिएको छ,’ नेता भने, ‘त्यतिञ्जेलसम्म पनि उहाँहरु आफ्नो पार्टीमा नफर्किएमा कारबाही हुनेछ ।’

राष्ट्रिय राजनीतिका अन्य विषयमा, पार्टीहरुसँग थप छलफल र गृहकार्य गर्नुपर्ने भएकाले राष्ट्रिय कार्यकर्ता भेला स्थगित गरिएको पोख्रेलले जानकारी दिए ।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले हिजो (शुक्रबार) बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका छन् । बादललाई भने बागमती प्रदेशको इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
माओवादी केन्द्रले गरेका यी हुन् चार निर्णय

१) माओवादी केन्द्र तर्फबाट संघीय सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने ।

२) हिजो शुक्रबार नेकपा एमालेले आफ्नो केन्द्रीय कमिटीमा राखेका संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने ।
३) २०७७ चैत २ गते हुने भनिएको माओवादी केन्द्रको राष्ट्रिय कार्यकर्ता भेला स्थगित गर्ने ।
४) २०७७ चैत १ गते हुने तय भएको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यथावत सञ्चालन गर्ने ।

 

 
 
  
 

You may also like