प्रदेशस्तरीय बास्केटबल क्लोज क्याम्प

बुटवल । लुम्बिनी प्रदेशका १७ वर्षमाथिका बास्केटबलका खेलाडीहरुलाई बुटवलमा तीन हप्ते प्रशिक्षण दिइएको छ । रुपन्देही बास्केटबल संघको आयोजनामा ‘क्लोज क्याम्प’ नाममा भएको प्रतियोगितात्मक प्रशिक्षणमा प्रदेशका विभिन्न जिल्लाबाट ५६ जना खेलाडी र १७ जना प्रशिक्षक सहभागी भएका थिए ।

प्रतियोगितामा पुरुषतर्फ सचिन भण्डारी, अंकित सुनाम र सिमान्त थापा प्रथम, सौरभ श्रीसमगर,नवीन थापा र निलेश थापा दोस्रो भएका छन् । महिलातर्फ पवित्रा खनाल,कृति थापा र इच्छा कार्की प्रथम तथा खुशी खांण,एभ्रिल गाहा, समीक्षा शेरचन र मिनाक्षी भण्डारी तेस्रो भएका छन् । प्रतियोगितामा सर्वाधिक स्कोररमा इच्छा कार्की र अंकित सुनाम भए ।

यस्तै क्लोज क्याम्पमा महिलातर्फ विष्णु क्षेत्री र खुशी खांण तथा पुरुषतर्फ सौरभ श्रीस र कुमार थापा उत्कृष्ट खेलाडी घोषित हुंदै जनही २५ सय रुपैयांका दरले नगद पुरस्कार प्राप्त गरेका छन् । खेलाडीहरुलाई प्रमुख प्रशिक्षक दिनेश नकर्मी, सेनानी झपेन्द्र चौधरी, सम्राट भट्टचन लगायतका प्रशिक्षकले खेलका सैद्धान्तिक र प्राविधिक पक्ष सिकाएका थिए । क्लोज क्याम्प समापन समारोहमा नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष होम दोङले राज्यले खेलकुद क्षेत्रलाई अझै प्राथमिकतामा राख्न नसकेको उल्लेख गर्दै बास्केट बल खेललाई झनै उपेक्षा गरिएको बताए । नेपाल ओलम्पिक कमिटीका केन्द्रीय सदस्य दीर्घबहादुर केसीले सरकारको खेलकुद नीति अवैज्ञानिक रहेको भन्दै पर्याप्त खेलाडी भएको ठाउंमा पुर्वाधार बनाउनुपर्नेमा खेलाडी नै नभएका स्थानमा पुर्वाधार बनाएर बजेट दुरुपयोग भइरहेको गुनासो गरे ।

बुटवल देवीनगरस्थित एन्फा एकेडेमी आसपासको क्षेत्रलाई खेलकुद ग्राम बनाउन आफूहरुले गरेको प्रयासमा स्थानीय, प्रदेश र संघीय सरकारले साथ नदिएको उनले बताए । रुपन्देही बास्केट बल संघका अध्यक्ष मनिषकुमार ह्योंजूले रुपन्देहीमा बास्केटबल खेलप्रति युवा पुस्ताको आकर्षण भएपनि सरकारी स्तरको एउटा पनि कोर्ट नहुंदा नीजि क्षेत्रको कोर्ट भाडामा लिएर प्रशिक्षण र खेलहरु खेलाउनुपर्ने वाध्यता रहेको बताए । क्लोज क्याम्प समापनमा एकहप्ते प्रशिक्षणमा सहभागी १७ जना प्रशिक्षकहरुलाई सम्मान गरिएको संघका सचिव रोहिन भण्डारीले बताए ।

 
 
  
 

You may also like