अमृता भण्डारी , काठमाण्डौ
झसङ्ग हुन्छु म,
जब भिड छल्ने कोशिस गर्दै,
आफुलाई एकोहोरे बनाएर हिडिरहेकी हुन्छु।
तब कोहि पछाडीबाट मलाई गर्लम्म अङ्गालो हाल्छ।
मेरो सातोपुग्लो हावा जसरी एक्कासी यत्रतत्र उड्छ।
म डरले चिच्याउन चाहन्छु,पटक्कै अँह सक्दिन!
आँखा चिम्लन्छु त अध्यारो बाहेक केहि देख्दिन!
कसैले इशारा गरेर आफैलाई बोलाए जस्तो मान्छु,
तर केहि सुन्न र बुझ्न भने अझै फिटिक्कै सक्दिन!
केहि समय पछि झट्ट सम्झिन्छु,
म त साथीलाई बसपार्कमा लिन आएकी थिए।
उसलाई कुर्न आकाशे पुलनिर उभिएकी के थिए,
एउटा पुरुस आयो र सोध्यो जाने हो?म अचम्मित भए!
सायद!ऊ अरु ठानेर झुक्किए होला भनेर चुप बसिरहे!
तर उसले फेरि त्यसैगरी जाने हो? भनी सोध्न थाल्यो,
म अब भित्रभित्रै डराउन थाले तर बाहिर रिस देखाए !
के सोचिस र जाम भनिस ?भनेर कड्किदै हिड्न लागे !
यत्तिकैमा त्यहाँनेर के हुँदै थियो मलाई थाहा नै थिएन !
स्तब्ध म,
अब सोचमा हराएको चाल पाए,
घोर निन्द्रामा परे जस्तो बनेको बेहोसी मलाई!
कसैले एकटकले बोलाएसी मात्रै आखा खोले !
आशुले भरिएका नयन हातले पुछिसकेपछि पो,
थाहा पाए,अघि पछाडीबाट अंगाल्ने मेरी साथी रहेछे !
गाउँबाट भर्खर सहर पसेकी त्यहीँ नै बालसखी रहिछे !
प्रस्टसंग अब म,
मलाई अंगाल्ने,अघि जाने हो?भनि सोध्ने
पुरुष नभएर मेरी सहेली नै हो भन्ने बुझ्छु !
उसलाई गाली गर्छु कि किन सुरुमै नबोलाएकी तैले ?
जबाफमा उसले केहि नभएर केवल मौन बसिदिन्छे !
केहि समयपछि,
उसले सोध्छे कि तलाई सन्चै त छ नि ?
म हास्दै भन्छु,बिरामी भए लिन आउथे त ?
अब भने प्रतिउत्तरमा उसले भन्छे,
त्यसो भए अघि ढल्न लागेजस्तो किन गरेकी त ?
अघिल्लो घटनाबारे अन्जान उसलाई म केही भन्दिनँ !
मौन रहन्छु र त्रसित मनलाई बारम्बार प्रश्न यो गर्छु कि,
नारी भएकै आधारमा हामीलाई यो डर कहिलेसम्म ?
हामी भएकै आधारमा नारीलाई यो डर कहिलेसम्म ?