मेस्सीको गोलमा दोस्रो स्थानमा उक्लियो बार्सा

by समतल अनलाइन

काठमाडौं। फर्ममा रहेको सेभियालाई पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँगको दूरी दुई अंकमा झार्न सफल भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २–० गोलले हरायो ।

बार्साको जीतमा कप्तान लियोनेल मेस्सी पुनः नायक रहे । खेलको २९ औं मिनेटमा उनले ओसमान डेम्बेलेका लागि गोलको अवसर सिर्जना गरे भने दोस्रो हाफको अन्त्यतिर आफै गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । योसँगै सेभियाको घरेलु प्रतियोगितामा १० खेलको जीतको श्रृङ्खलामा पूर्णविराम लागेको छ ।

सेभियाविरुद्ध उनको यो ३८ औं गोल थियो । मेस्सीले लगातार ला लिगाका पछिल्ला ८ खेलमा गोल गर्न सफल भएका छन् । उनले यस क्रममा १२ गोल गर्दै ला लिगाको गोल्डन बुटको रेसमा लुइस सुवारेजलाई ३ गोलले उछिनेका छन् ।

यसअघि बार्साका लागि क्लेमेन्ट लेङलेटको गोल रद्द गरिएको थियो भने सेभियाका लागि युसेफ एन नेसरीको गोल पनि अफसाइड कै कारण रद्द भएको थियो । ५ खेलबाट बार्सिलोनाको ५३ अंक रहेको छ । शीर्ष स्थानमा रहेको एथ्लेटिकोको ५५ अंक रहेको छ । यद्यपि, डिएगो सिमिओनीको टोलीले २ खेल कम खेलेको छ । एजेन्सी

 

 
 
  
 

You may also like