गोर्खा ब्यायज स्पोर्ट्स क्लब अधिवेसन सम्पन्न

by समतल अनलाइन

बुटवल । गोर्खा ब्यायज स्पोर्ट्स क्लबको साधारण सभा तथा आठौ अधिवेसन सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमको अखिल नेपाल फुटबल संघ लुम्बिनी प्रदेशका अध्यक्ष भुपेन्द्र विक्रम थापा (पुकार)ले वृक्षारोपण गरि उद्घाटन गरेका छन । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले नेपाली फुटबलमा धेरै समस्या र चुनौतीहरु रहेको दुखेसो गरे । क्लब आर्थिक रुपमा सक्षम नभएसम्म फुटबल खेल सबल हुन नसक्ने उनले बताए । एन्फाले अहिले लिभिङ फुटबलको नारालाई अघि बढाएको दाबी गर्दै प्रदेशमा रहेका क्लबलाई आर्थिक रुपमा सक्षम बनाउने गरि आफुले योजना अघि बढाउने प्रतिवद्घता जनाए ।

लुम्बिनी स्पोर्ट्स क्लबका अध्यक्ष तथा बुटवल उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष जगदिश चन्द आचार्यले खेललाई माया गर्ने, खेलमा प्रतिवद्घहरुको संख्या धेरै भएपनि चाहेजति खेल विकास गर्न नसकिएको दुखेसो गरे । क्लबका रुपमा मात्र संख्या बढाउनेमात्र नभई क्लबले गर्ने कार्य र गतिविधिका आधारमा सरकारबाट सहयोग गर्ने गरि अघि बढ्नुपर्ने सुझाव दिए ।

बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले गोर्खा ब्यायजसंग समन्वय गरेर धेरै खेलकुद गतिविधि गरेको स्मरण गर्दै फुटबलको विकासमा महत्वपुर्ण योगदान रहेको बताए । नगरभित्र रहेका खेलकुद गतिविधि गर्ने क्लब, मैदानका बारे जानकारी लिने काम गरेको उनले बताए । लामोसमयको अध्ययनबाट बुटवलमा ३९ वटा ईन्डोर र आउटडोर खेलमैदान भएको तथ्याक अनुगमनका क्रममा देखिएको र १३ वटा पुर्वाधार बनाउन लागेको उनले बताए ।
क्लबका अध्यक्ष दीर्घ बहादुर केसीले रुपन्देहीको फुटबलमा गोर्खा ब्यायज क्लबको अलग्गै पहिचान बनाएको दाबी गरे । देशका विभिन्न स्थानमा हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएर राम्रो छवि बनाउन सफल भएको उनले बताए ।

कार्यक्रममा लन टेनिस संघ रुपन्देहीका सचिव गोपाल ज्ञवाली, एन्फा लिगका सदस्य दयाराम सापकोटा, क्लबका महासचिव बिष्णु प्रसाद पौडेलले खेल विकासमा स्थानिय सरकारबाट लगानी जरुरी रहेको बताए ।

 

 
 
  
 

You may also like