जब प्रजातान्त्रिक मूल्य–मान्यता कुल्चिइन्छ, नागरिक समाज उठ्नै पर्छ : केदारभक्त माथेमा

by समतल अनलाइन

काठमाडौं । प्राध्यापक केदारभक्त माथेमाले प्रतिगमनविरुद्धको आन्दोलनमा प्राध्यापकहरूको व्यापक सहभागिता हुनुपर्ने बताएका छन् ।वृहत नागरिक आन्दोलनले आज (आइतबार) सिफलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्राध्यापकले लोकतन्त्रको पक्षमा बोलेपछि मात्र छात्रछात्राले पनि बोल्न थाल्ने बताए ।

शहीद धर्मभक्त माथेमाको सालिकसँगै उभिएर उनले भने, ‘मलाई त दुःख किन लाग्छ भने नागरिक समाजमा त धेरै प्राध्यापकहरु पनि देखिनुपर्ने थियो । त्यो देखिरहेको छैन । प्राध्यापकहरुभित्र पनि बल्नुपर्ने हो । बलेपछि पो छात्र र छात्राहरुलाई उहाँहरुले बाल्न सक्नुहुन्छ । त्यो देखेर मलाई अलिकति दुःख लागेको छ ।’

अमेरिकाका पूर्व राष्ट्रपति थोमस जेफर्सनको भनाइ उद्धृत गर्दै माथेमाले प्रजातन्त्र चाहनेले त्यसको मूल्य चुकाउने पर्ने बताए । ‘जब प्रजातान्त्रिक मूल्य र मान्यता पछारिन्छन्, फालिन्छन् नागरिक समाज उठ्नै पर्छ’ प्राध्यापक माथेमाले कार्यक्रममा भने, ‘आफ्नो औंलामा अरुले टेक्दा ऐया पनि नभनी बस्नु भएन ।’

प्राध्यापक माथेमाको सम्वोधनको सम्पादित अंश :-
जब प्रजातान्त्रिक मूल्य र मान्यता कुल्चिछन्, पछारिन्छन्, फालिन्छन् तब नागरिक समाज उठ्नै पर्छ । मलाई त दुःख किन लाग्छ भने नागरिक समाजमा त धेरै प्राध्यापकहरु पनि देखिनुपर्ने थियो । त्यो देखिरहेको छैन । प्राध्यापकहरुभित्र पनि बल्नुपर्ने हो । बलेपछि पो छात्र र छात्राहरुलाई उहाँहरुले बाल्न सक्नुहुन्छ । त्यो देखेर मलाई अलिकति दुःख लागेको छ ।

जहिले पनि भन्ने गर्छु । अमेरिकाको तेस्रो राष्ट्रपति थोमस जेफर्सनले भनेका कुरा । उनी अमेरिकाको संविधान लेख्ने सबैभन्दा प्रभावशाली व्यक्ति थिए । उहाँले भन्नुभएको थियो, ’तिमीलाई प्रजातन्त्र चाहिन्छ भने तिमीले मूल्य चुकाउनै पर्छ । सधैं सचेत हुनु नै त्यो मूल्य हो । केही पर्‍यो भने उठीहाल्नुपर्‍यो । कसैले औंलामा टेक्दा कम्तीमा ऐय्या त भन्नुपर्‍यो । जानी जानी हो भने टेक्ने मान्छेले माफी माग्नुपर्‍यो । तर ऐंया पनि नभन्ने त गर्नु भएन ।’

संसद् पुनर्स्थापनाको कुरा भइरहेको छ । तर यति गरेर मात्रै सबै कुरा सकिने होइन् । यहाँ हामीले भयानक विकृति देखिसकेका छौं । एउटा हो, विकृत निर्वाचन पद्धति । यो कति महँगो बनाएका छौं हामीले । यसलाई पनि हामीले सम्बोधन गर्नुपर्छ । मलाई त कता कता लाग्छ नागरिक समाज यति बृहत् रुपमा आओस् कि, १३ औं शताब्दीमा बेलायतका किङ जोन भन्ने निरंकुश राजालाई सही ठाउँमा ल्याउन म्यानाकार्टामा हस्ताक्षर गर्न लगाइएको थियो ।

त्यस्तै म्यागनाकार्टामा अहिलेका राजनीतिक नेताहरुलाई हस्ताक्षर गर्न लगाउनुपर्ने भएको छ । निर्वाचनमा जुन खर्च हुने बनाइएको छ, त्यसले नै हो सबै भ्रष्टाचार हुने, गडबडी हुने कारण नै त्यही हो । त्यस्तो अभ्यासलाई नेपालले धान्न सक्दैन । अर्को कुरा हरेक कुरामा उहाँहरुको राजनीतिकरण छ । उहाँहरुले राजनीतिलाई आफ्नो विर्ता पाएजस्तो ठान्नु भएको छ । विश्वविद्यालयमा देख्नुभयो होला, विद्यालयमा देख्नुभयो होला । प्रशासनमा । हरेक क्षेत्रमा हस्तक्षेप छ ।

हुँदाहुँदा संवैधानिक निकायहरुमा पनि उहाँहरुको हस्तक्षेप छ । अब हामीले यसलाई बन्द गर्नै पर्छ । सहनै हुन्न । राजनीतिले गर्नुपर्ने केही कुराहरु छ । तर हेर्नुस्, हरे शिव ! कुनै कुनै बेला त मलाई के गरुँ के गरुँ हुन्छ । मैले चार जना प्रधानमन्त्रीलाई बालुवाटारमै भेटेर बिन्ती गरेर भनेको छु, ’विश्वविद्यालयमा तपाईंहरुले हात नबढाउनुस् है । यसरी कहिल्यै राम्रो हुन्न । जुन जुन विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुन्छ, त्यो विश्वविद्यालयले कहिल्यै पनि राम्रो गर्न सक्दैन । तर हेर्नुस्, पटक–पटक भन्दा पनि उहाँहरुले त्यही गरिराख्नु भएको छ । यसको हामीले अन्त्य गर्नैपर्छ ।’

मेरो विचारमा संघीयता प्रतिको प्रतिबद्धता पनि चाहिन्छ । भाषणमा मात्रै होइन । अहिले के गर्नुहुन्छ, ६ महिनापछि के गर्नुहुन्छ । कति शक्ति प्रदेशहरुलाई दिनुहुन्छ ? पछिल्ला २–४ वर्षको अभ्यास हेर्दा त यो केही देखिएको छैन् । यो कुरामा पनि हामीले प्रतिबद्धता खोज्नुपर्छ ।

अर्को कुरा, समाजप्रतिको प्रतिबद्धता पनि चाहिन्छ । हामीले त्यो महसुस गरेका छौं, अलिकति समाजवादी खालको रिपोर्टहरु आएको छ भने त्यसलाई चकटीमुनी राख्ने र बाहिर निकाल्दै ननिकाल्ने अभ्यास देखिन्छ । चिकित्सा शिक्षा सुधारका निम्ति तयार पारिएको प्रतिवेदन पनि सरकारले डेढ महिना लुकाएर राख्यो । यो पनि प्रजातन्त्र हो । हामीले यस्तो प्रजातन्त्र खोजेका हौं भने, चाहिएन यस्तो प्रजातन्त्र । मैले सोचेकै थिइनँ, यस्तो प्रजातन्त्र । जहाँ रिपोर्ट लुकाइन्छ ।

आफ्नै मन्त्रीको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय समितिको प्रतिवेदन लुकाउँछ सरकार । त्यसलाई जनतामाझ लगेर बहस गर्नुपर्‍यो नि ! हेर्नुस् त सार्वजनिक विद्यालयहरु, सार्वजनिक अस्पतालहरुको हालत । समाजवादतिर अगाडि बढेको पटक्कै छैन । हो यसमा पनि हामीलाई प्रतिबद्धता चाहिन्छ । अब हामीले हरेक नेतालाई बोलाएर म्यागनाकार्टा जस्तो प्रतिबद्धतापत्रमा छाप लगाउनुपर्छ ।

 
 
  
 

You may also like