अर्थमन्त्रीलाई बुटवलमा देखाइयो कालो झण्डा

by समतल अनलाइन

बुटवल।अर्थमन्त्री विष्णु पौडेल बिरुद्ध आफ्नै गृहनगर बुटवलमा कालो झण्डा प्रदर्शन भएको छ ।

दोस्रो पटक अर्थमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रुपन्देही आएका पौडेललाई नेपाली काँग्रेको भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ बुटवलमा कालोझण्डा देखाएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव समेत रहेका पौडेलले लुम्बिनी प्रदेशको राजधानीसँग मन्त्रीपदसंग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क (नेपालगञ्जरोड)मा कालोझण्डा देखाएका हुन् ।

रुपन्देहीको सैनामैनाका बिभिन्न कार्यक्रममा सहभागी हुन त्यतर्फ जाँदै गरेका पौडेललाई काँग्रेस कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गर्दै पौडेल बिरुद्ध नाराबाजी गरेका थिए ।

पौडेलको सुरक्षामा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएपनि काँग्रेस कार्यकर्ताहरुले सुरक्षाघेरा छिचोल्दै कालो झण्डा प्रदर्शन गरेका हुन् ।

प्रदेशको राजधानी सार्न गरिएको षडयन्त्रका बिरुद्ध पौडेलले देखाएको मौनताको बिरोधमा कालो भण्डा प्रदर्शन गरिएको नेपाली काँग्रेस बुटवल उपमहानगरका सभापति खेलराज पाण्डेले बताए ।

मंगलबार अपरान्ह बुटवल आएका अर्थमन्त्री पौडेल रुपन्देहीमा २ दिन बिभिन्न कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको छ ।

पौडेल बिरुद्ध हुनसक्ने सम्भावित बिरोध प्रदर्शनलाई मध्यनजर गरी बुटवल लगायत उनि सहभागि हुने कार्यक्रम स्थल वर पर व्यापक रुपमा सूरक्षकर्मी परिचालन गरीएको छ ।

 

 
 
  
 

You may also like