प्रशासनले बुटवलका विभिन्न ठाउँलाई निषेधित , ५ जना भन्दा बढी हिडडुल गर्न नपाइने

by समतल अनलाइन

बुटवल । बुटवलमा रहेको प्रदेश ५ को राजधानी दाङ सार्ने प्रदेश सरकारको निर्णय विरुद्ध विपक्षी दल नेपाली काँग्रेससहित विभिन्न संघसंस्थाले आन्दोलनको घोषणा गरेपछि स्थानीय प्रशासनले बुटवल उपमहानगरका विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

स्थानीय प्रशासनले शनिबार साँझ प्रकाशन गरेको सूचनामा प्रदेश सारेको बिरोधमा भएको आन्दोलनमा सरकारी सवारी साधन टोडफोड, मसाल जुलुस तथा सडकमा टायर बाल्ने जस्ता कार्य भएको भन्दै प्रदेश ५ प्रदेशसभा भवन सहित प्रदेश मन्त्रालयका आसपासका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।भोलि असोज १८ गते बिहान ६ बजेबाट २१ गते बेलुका ६ बजे सम्म लागुहुने गरि निषेधित क्षेत्रमा नारा, जुलुस, बिरोध प्रदर्शन गर्न नपाउने प्रशासनले आदेश जारी गरेको छ

 

५ जना भन्दा बढी एककृत भएर हिंडडुल समेत गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीको सुचनामा उल्लेख छ ।प्रशासनले प्रदेश सभाको भवन क्षेत्रअन्तर्गत दक्षिण ईट्टाभट्टी चौक, उत्तर कालिका मन्दिर चौक, पूर्वमा कालिका मन्दिरदेखि कालिका मन्दिर र पश्चिममा तिनाउ खोला सम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

त्यसैगरी विभिन्न प्रदेश मन्त्रालय रहेको क्षेत्र अन्तर्गत दक्षिणमा सुन्दर चौक, उत्तरमा भुट्की चौक, पश्चिममा हाटबजार लाईन र पूर्वमा सिद्धार्थ राजमार्ग क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत दक्षिणमा जेसिस चौक, उत्तरमा बिद्युत लाईन हाटबजार चौकसम्म, पश्चिममा हाटबजार लाईन र पुर्वमा सिद्धार्थ राजमार्ग सम्मको क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।

प्रशासनले तोकेको निषेधित क्षेत्रमा सभा, प्रदर्शन तथा नारा लगाएर स्थानीय प्रशासन ऐन बमोजिम कारवाही हुने सुचनामा उल्लेख छ ।

 

 
 
  
 

You may also like