बुटवलका प्रमुख प्रशासकीय अधिकृत शर्मालाई प्रवल जनसेवा श्री (चतुर्थ)

by समतल अनलाइन

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा प्रवल जनसेवा श्री (चतुर्थ) बाट सम्मानित हुनुभएको छ । उहाँलाई सरकारले संविधान दिवसको अवसरमा उक्त मानपदवीबाट सम्मान गर्ने घोषणा गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृतका रुपमा यो पदकबाट सम्मानित हुनेमा उहाँ मुलुकका ७५३ पालिकाहरु मध्येबाट एक्लो हो । बुटवल उपमहानगरपालिकामा एक वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत शर्मा कुशल प्रशासकका रुपमा चिनिनुहुन्छ ।
०४४ असार ७ गते जिल्ला प्रशासशन कार्यालय मुस्ताङमा लेखापलका रुपमा सेवा प्रारम्भ गर्नुभएको थियो । त्यसयता विभिन्न जिम्मेवारी र भूमिकामा रहेर उहाँले धेरै जिल्लामा काम गर्दै आउनुभएको छ ।
बुटवलमा प्रमुख प्रशासकीय अधिकृत भएर आउनु अघि उहाँ जिरी नगरपालिकामा हुनुहुन्थ्यो । त्यसअघि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा हुनुन्थ्यो । त्यहाँ रहँदा उहाँले वातावरणको क्षेत्रमा प्रभावकारी काम गर्नुभएको थियो । ‘वातावरणमैत्री स्थानीय शासन प्रारुप’ तयार पार्ने कामको नेतृत्व शर्माले नै गर्नुभएको थियो । यो प्रारुप हाल मुलुकका पालिकाहरुका लागि महत्त्वपूर्ण दस्तावेज मानिन्छ । यसको कार्यान्वयनबाटै दिगो र वातावरणमैत्री विकास गर्न सकिने विज्ञहरुको विश्वास छ ।
शर्माले दिगो विकासका बारेमा पनि गहिरोसंग अध्यय्न गर्नुभएको छ । स्वीटजरल्याण्ड र जर्मनीमा पर्वतीय दिगो विकास विषयमा उहाँले करिब एक वर्षको कोर्ष पूरा गर्नुभएको थियो । वातावरण, दिगो विकास र सहरी विकासका विषयमा विभिन्न देशमा तालिम तथा प्रशिक्षणसमेत लिनुभएको थियो ।
‘यहीँ कोर्षको अध्यय्नपछि दिगो विकासका लागि वातावरणको संरक्षण, वातावरणमैत्री विकास र मानव जीवनका लागि वातावरणको महत्वका विषयमा केही गर्ने हुटहुटी जागेको थियो’, शर्माले भन्नुभयो, ‘मन्त्रालयमा बसेर प्रारुप तयार पार्दै त्यसलाई सदुपयोग गर्ने मौका पाएँ र अहिले कार्यान्वयनको चरणमा पनि काम गर्न पाएको छु ।’
सम्मानले आफुलाई सेवाप्रवाहमा थप खटेर लाग्न प्रेरणा मिलेको र जनप्रतिनिधि, कर्मचारीको सहकार्यमा समृद्ध बुटवल, सुखी जनताको संकल्प साकार पार्ने काममा अझ हौसला मिलेको प्रतिक्रिया दिनुभयो ।

 
 
  
 

You may also like