कोरोनाबाट बुटवलमा थप एकजानको ज्यान गयो

by समतल अनलाइन

बुटवल । कोरोना भाइरस संक्रमणका कारण बुटवलमा थप एक महिलाको ज्यान गएको छ ।लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रुपन्देहीको सैनामैना नगरपालिका–११ सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।
ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल आएकी ती महिलाको बुधबार साँझ नै जिन एक्सपर्ट मेसिनमार्फत पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

कोरोना पुष्टि भएपछि महिलालाई अस्पतालकै फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार भइरहेकामा बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल मातहत बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पताल र भैरहवाको भीम अस्पतालमा आइसियू बेड खाली नभएकाले विरामीलाई फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार गरिएको डा. गौतमले बताए ।

 
 
  
 

You may also like