साझा पार्टीले मनायो स्थापना दिवस

बुटवल। पार्टी स्थापना भएको तीन वर्ष पुरा भएको उपलक्ष्यमा साझा पार्टी प्रदेश ५ ले स्थापना दिवस मनाएको छ । साझा पार्टी प्रदेश ५ का संयोजक अनुप मान सैजुको उपस्थितिमा प्रदेश ५ को बुटवल स्थित कार्यालयमा एक कार्यक्रमकाबीच स्थापना दिवस मनाइएको हो ।

पुराना राजनीतिक दलहरुको सत्ता साझेदारी लामो समय पर्यन्त रहिरहँदा पनि नेपालीहरुको जीवन स्तरमा तात्विक रुपान्तरण हुन सक्ने सम्भावना नदेखिए पछि २०७४ साल साउन ३ गतेका दिन वैकल्पिक राजनीति देशमा आमूल परिवर्तनको एकमात्र आधार हो भन्ने मान्यता बोकेर साझा पार्टी स्थापना भएको थियो ।

स्थापना दिवसको मौकामा साझा पार्टी प्रदेश ५ले गरेका विविध कार्यक्रमहरुको समीक्षा समेत गरिएको थियो । स्थापना दिवसको अवसरमा बसेको सचिवालय स्तरको बैठकले अभियन्ताहरुमा भए गरेका कमीकमजोरीको आत्मालोचना गरी व्यवहार तथा कार्यशैलीमा वांछित संशोधन गर्दै सँगठन विस्तारका लागि सञ्चालित अभियानलाई थप सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ ।

कोभिड १९ को कहरका बीच समस्यामा बाँचीरहेका आप्रवासी तथा नेपालभित्रै समस्या झेल्न बाध्य बनेका नेपालीहरुको समस्याको पहिचान तथा समाधानमा टेवा पुग्ने किसिमले केही महिना अघिदेखि शुरु गरिएको नागरिक सहायता कक्ष विभिन्न तहमा थप प्रभावकारी रुपमा जारी राख्न कार्यालय नै सञ्चालन गर्ने निर्णय समेत सचिवालय बैठकले गरेको प्रदेश ५ का संयोजक अनुपमान सैजुले पहिलो सन्देशलाई बताए ।

त्यसैगरी सदस्यता विस्तारको क्रमलाई समेत जारी राख्दै सदस्यता नवीकरणका लागि सबै जिल्ला संयोजक तथा स्थानीय निकाय प्रमुखहरुलाई साउन महिना भित्रमा सबै काम सकाएर रिपोर्ट प्रदेश ५ को सचिवालयमा बुझाउन निर्देशन दिने निर्णय गरिएको सचिवालय प्रमुख हरिकृष्ण अधिकारीले बताउनु भयो ।

 

 
 
  
 

You may also like