सरिता गिरी साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासित

काठमाडौं । नेतृ सरिता गिरीलाई समाजवादी पार्टीले निष्कासन गरेको छ । पार्टीले निष्कासन गरेपछि उनको सांसद पद पनि गएको छ ।

मंगलबार बसेको पार्टी पदाधिकारीको बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।

पार्टीका महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको ३ सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसका आधारमा उनलाई कारबाही गरिएको हो ।

पार्टीका सचिव मोहम्मद इतियाक राईले गिरीलाई पदबाट हटाइएको निर्वाचन आयोग र संसद सचिवालयलाई दिने निर्णय गरिएको बताए ।

गिरीले लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतको भएको बताएकी थिइन् । उनले सरकारले जारी गरेको नयाँ नक्साको विरोध जनाएकी थिइन् ।

जेठ २७ गते समाजवादी पार्टीले निसान छाप परिवर्तन गर्न संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर, गिरीले असहमति जनाउँदै संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । पछि संसदमा बोल्न नपाएपछि बैठककै बीच उनी संसदबाट बाहिरिएकी थिइन् ।

 
 
  
 

You may also like