एकको मृत्यु भएको र ११४ संक्रमित रहेको नरैनापुरमा निषेधाज्ञा जारी, सेना परिचालन

बाँके । कोरोना संक्रमणबाट एक जनाको ज्यान गइसकेको र हालसम्म ११४ जना संक्रमित भइसकेको बाँकेको नरैनापुरमा निषेधाज्ञा जारी गरिएको छ ।

नरैनापुरमा कोरोना संक्रमितको संख्या धमाधम बढ्न थालेको र अव्यवस्थित क्वारेन्टाइनका कारण थप संक्रमण बढ्न सक्ने जोखि देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दै सेना परिचालन गर्ने निर्णय भएको हो ।

त्यहाँ कोरोना संक्रमणको स्थिति नियन्त्रण बाहिर जाने अवस्था रहेको र स्थानीय जनप्रनिधिहरु समेत संक्रमणका कारण तनावमा पर्न थालेपछि आज (आइतबार) राति ८ बजेबाट सेना परिचालन गर्ने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिएका छन् ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले आफूलाई स्थानीयबाट असहयोग भएकाले सेना गुहार्नुपरेको बताएका छन् । अध्यक्ष साहले शनिबार सेना, स्वास्थ्यकर्मीलगायतको सहयोग माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएका थिए । जिल्ला सुरक्षा समितिको आइतबारको बैठकले स्वास्थ्यकर्मीको टोली पनि पठाउने निर्णय गरेको छ ।

क्वारेन्टाइनमा बस्नेहरुले क्वारेन्टाइनको नियम पालना नगरेको र सामाजिक दूरी कायम नराख्दा संक्रमणको जोखिम थप बढेको बतायँदै साहले स्थानीय प्रशासनसँग सहयोग मागेका थिए ।

‘संख्या निश्चित गर्न बैठक बसिरहेका छौं, क्वारेन्टाइन र आइसोलेसन तयार गर्नका लागि सेना र स्वास्थ्यकर्मी पठाउने निर्णय भएको छ,’ प्रजिअ खड्काले सुनाए ।

यसअघि त्यहाँ संक्रमितलाई क्वारेन्टाइनबाट अस्पताल लैजान समेत समस्या भएको थियो । कोरोना संक्रमितलाई उपचारमा लैजान स्थानीयले अवरोध गरेका थिए । प्रतिपक्षी दलले भ्रामक कुरा गरेर स्थानीयलाई उचालेको अध्यक्ष साहको गुनासो छ ।

‘वडाध्यक्षहरु मोबाइल स्विच अफ गरेर बस्छन्, प्रतिपक्षी दलले कोरोना होइन थाकेर आएका मात्रै हुन् भनेर स्थानीयलाई भ्रम छरेको छ,’ अध्यक्ष साहले भने, ‘बिरामी उठाउने अवस्था छैन, हामीलाई कसैले पत्याउन छाडे, सेना गुहार्नुको विकल्प मसँग रहेन ।’

यहाँका एक मृतक तथा सबै संक्रमित भारतबाट आएका हुन् । यस्तै भारतबाट थप एक सय जना सीमानामा आएको गाउँपालिकाले जनाएको छ । उनीहरु आए राख्नलाई क्वारेन्टाइन समेत नभएको गाउँपालिका अध्यक्ष साह बताउँछन् । अहिले सात सय बढी क्वारेन्टिनमा रहेको साहले बताए ।

 
 
  
 

You may also like